लक्ष्मण पौडेल
भैरहवा, साउन १६ गते । रुपन्देहीको बेलहिया नाका हुँदै बेचबिखनका लागि भारत लैजान लागिएका १४३ महिलाको विगत एक वर्षमा उद्धार गरिएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखन दिवसका अवसरमा माइती नेपाल, भैरहवाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा ती महिलाको सीमा क्षेत्रबाट उद्धार गरिएको हो ।
त्यस्तै, नौ जनाको भने भारतका विभिन्न स्थानबाट उद्धार गरिएको माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले बताउनुभयो । त्यस्तै गत आर्थिक वर्ष मानव बेचबिखनसम्बन्धी तीनवटा मुद्दा दर्ता भएको पनि उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/७६ मा भने सीमा क्षेत्रबाट २५३ र भारतका विभिन्न स्थानबाट ५० जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको थियो । यो वर्ष मानव बेचबिखनसम्बन्धी दुईवटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा सीमा क्षेत्रबाट २७२ महिलाको उद्धार गरिएको थियो भने १० जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको थियो । यो आर्थिक वर्षमा मानव बेचबिखनका १५ वटा मुद्दा दर्ता भएका थिए । सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न प्रलोभन पारेर अधिकांश युवतीहरूलाई बेखबिखनका लागि लैजाने गरेको पाइएको माइती नेपालकी प्रमुख क्षेत्रीले बताउनुभयो ।
यता, प्रदेश ५ को त्रिवर्षीय तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष २०७६/७७ मा मानव बेचविखन तथा ओसारपसारका घटनामा केही कमी आएको देखिएको छ ।
कोभिड–१९ को प्रभावका कारण नेपालमा गरिएको बन्दाबन्दीले गर्दा बेचबिखनका घटनामा कमी आएको प्रहरीको भनाइ छ । यो आर्थिक वर्षमा मानव बेचविखन तथा ओसारपसारका ३० मुद्दा दर्ता भएको प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा ४९ मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा पनि ४९ मुद्दा दर्ता भएका थिए ।
नेपालको संविधानले मानव बेचबिखन गर्न नपाइने संवैधानिक सुनिश्चितता गर्दै धारा २९ को उपधारा ३ र ४ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाधा बनाउन नपाइने, कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था गरेको छ । त्यसविपरीतका कार्य गरेमा कानुनबमोजिम दण्डनीय हुने संवैधानिक ग्यारेन्टी गरिएको छ । त्यस्तै मानव बेचबिखन र ओसारपसार नियन्त्रण ऐन २०६४ ले कुनै पनि प्रयोजनका लागि कुनै व्यक्तिलाई बिक्री वा खरिद गर्ने, कसैलाई आर्थिक लाभसहित वा लाभबिना जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, वेश्यावृत्तिमा संलग्न हुनेजस्ता गतिविधिलाई मानव बेचबिखन मानेको छ । त्यस्तै कानूनले निर्धारण गरेको अवस्थामा बाहेक मानव अङ्ग निकाल्ने कार्य गरेमा पनि मानव बेचबिखन गरेको ठहरिने व्यवस्था छ ।