logo
२०८१ मंसिर १४ शुक्रवार



पोखरामा ‘छुट्याऔँ फोहोर, बनाऔँ मोहर’ अभियान

प्रदेश |


पोखरामा ‘छुट्याऔँ फोहोर, बनाऔँ मोहर’ अभियान
फाइल तस्विर


तारा चापागाईं दुवे

पोखरा, साउन १६ गते । पोखरा महानगरपालिकाले फोहोरलाई घरघरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔँ फोहोर, बनाऔँ मोहर’ भन्ने नारासहित नगरभित्र उत्पादन हुने फोहोरलाई वर्गीकरण र व्यवस्थापन गर्ने अभियान सञ्चालन गर्न लागिएकाे महानगरपालिकाले जनाएकाे छ । पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा अभियान सञ्चालन गरिनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोर तीन प्रकारले सङ्कलन, वर्गीकरण र व्यवस्थापन गर्ने उद्देश्य रहेको बताउनुभयो । घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा ऊर्जा उत्पादन गर्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्ने अभियान चलाउने बताउनुभयो । प्रयोग हुने फोहोर प्रयोग गर्ने र फाल्नुपर्नेलाई महानगरले व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति बनाइएको छ । समितिले अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझाव सङ्कलन गरेको छ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गरेको छ । पोखरा महानपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा काैसी खेती गर्दा मासिक करिब ५० करोडसम्मको तरकारी फलाउन सकिने बताउनुभयो ।
पोखरामा दैनिक १८२ टन फोहोर उत्पादन हुने महानगरपालिकाले जनाएकाे छ । पोखरामा २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र ०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदैआएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?