logo
२०८१ फाल्गुन २९ बिहीवार



कर्मचारी सङ्क्रमित भएपछि मालपोत कार्यालय सिल

प्रदेश |


कर्मचारी सङ्क्रमित भएपछि मालपोत कार्यालय सिल


भक्तिविलास पोखरेल

गाईघाट,साउन १६ गते । उदयपुरमा पहिलोपटक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शुक्रबार मालपोत कार्यालय, उदयपुरका खरिदार पदमा कार्यरत त्रियुगा नगरपालिका–९ का ३४ वर्षीया पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

चार जना कर्मचारीमा गरिएको परीक्षणबाट उहाँलाई पोजिटिभ देखिएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले बताउनुभयो । उहाँले सेवाग्राहीको चाप बढ्न थालेपछि सबैको परीक्षण गर्ने योजना भएपनि पीसीआर किट अभावका कारण चार जनाको मात्र स्वाबको नमूना सङ्कलन गरिएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई सबैको परीक्षण गर्न भनेका थियौँ तर किट अभावको जानकारी आएपछि तत्काल सर्वसाधारणको चाप हुने फाँटका साथीलाई प्राथामिकता दिएको हो । सङक्रमितले परीक्षण गर्नुअघि नै सामान्य ज्वरो आउने, जीउ कटकटी खाने बताएपछि लक्षणको आधारमा उहाँको परीक्षण गर्दा पोजिटिभ देखिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

कोरोना पुष्टि भएसँगै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रदान गरिने सबै सेवा स्थगन गरी मालपोत कार्यालयल प्रशासनले तत्कालै सिल गरेको छ । सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले अनिश्चितकालका लागि सेवा ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । कार्यालयको सेवा ठप्प पारेसँगै सङ्क्रमित कर्मचारीको यात्रा विवरण सुरु गरिएको पनि उहाँले बताउनुभयो ।

सङ्क्रमितले भने आफ्नो फाँटमा बेलका नगरपालिका पनि पर्ने भएकाले त्यहाँका सर्वसाधारण सेवा लिन आउँदा सरेको हुन सक्ने बताउनुभएको छ । बिहीबार मात्रै बेलका नगरपालिका वडा नं ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना सङ्क्रमण देखिएको थियो । जसमा १८ वर्षीय होटल सञ्चालक पुरुष र ३५ वर्षीया कपडा पसल सञ्चालक महिला हुनुहुन्छ ।

सङ्क्रमण समुदायमा फैलिन सुरु गरेसँगै स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । यसअघि भारतबाट आएका नागरिकहरूमा मात्र देखिएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो समय समुदायका नागरिकमा पनि देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले बताउनुभयो ।
उदयपुरमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८८ जना पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा सात जना, चौदण्डीगढी नगरपालिकामा एक जना, उदयपुरगढी, गाउँपालिकामा दुई जना र ताप्ली गाउँपालिकामा तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । सरकारी कार्यालयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधारण त्रसित बनेका छन् । लकडाउन खुकुलो भएसँगै सामान्य बन्दैगएको जनजीवनमा कोरोनाप्रतिको लापरवाही बढ्दो रहेको अवस्थामा यो घटनाले उच्च सतर्कता अपनाउन आवश्यक देखिएको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?