logo
२०८१ बैशाख १३ बिहीवार



सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १७ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव, उहाँका चालक, पीएसओसहित थप ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएकाे परीक्षणको शुक्रबार राति सार्वजनिक गरिएकाे रिपाेर्टमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादव, उहाँका चालक, पीएसओसहित थप ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादव, सांसद् यादवका निजी चालक र पीएसओसमेत रहेका छन् । सांसद यादवले आफू कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि घरमा नै आइसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

त्यस्तै, सङ्क्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।

सङ्क्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका तीन महिला र ६१ पुरुष गरी ६४ जना रहेको उहाँले जानकारी दिनुभयो । वीरगञ्ज मिनाबजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना र वडा नं. ८ का ११ जना रहेको बताइएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ सङ्क्रमितको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बास्नेतले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा परीक्षणको दायरा बढाउँदै लगिएकाले सङ्क्रमित बढ्दैगएका हुन् । अझै एक परिवार एक पीसीआर परीक्षण (मास टेस्टिङ) योजना अनुरुप सङ्कलन गरिएका, सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट सङ्कलन गरिएको करिब १४ सय स्बावको नमूना परीक्षण गर्न बाँकी नै रहेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

दैनिक मास टेस्टिङका लागि महानगर क्षेत्रभित्र तीनदेखि चार स्थानमा स्बाव सङ्कलन केन्द्र खडा गरी स्वाब सङ्कलन गर्ने कार्य भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?