अविनाश चौधरी
धनगढी, साउन १८ गते । बुधबार आएको बाढीको घाउ निको नहुँदै कैलालीमा फेरि डुबान भएको छ । कटैनी र लिक्मा नदीमा आइतबार बिहान आएको बाढीका कारण नदी आसपासका गाउँहरूमा डुबानमा परेका छन् । बिहानैबाट दुवै नदीमा आएको बाढीले कैलारी गाउँपालिका र गौरीगङ्गा नगरपालिकास्थित विभिन्न गाउँमा डुबान गरेको स्थानीयले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार गौरीगङ्गा नगरपालिका–८ स्थित लिक्मामुक्त कमैया शिविरमा डुबान भएको छ । यसैगरी, कैलारी गाउँपालिका–८ लोहरपुर, भङ्गहा, पृथ्वीपुरका १० घरमा पानी पसेको छ । यस्तै, वडा नम्बर ६ को लम्बीफाँटामा केही घर डुबानमा परेका छन् । कटैनी नदीमा आएको बाढीले जोखिम बढेपछि १३ वटा घरका सदस्य र पशुचौपायलाई सुरक्षित ठाउँमा सारिएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज नारद धामीले जानकारी दिनुभयो । स्थानीय र प्रहरीले मिलेर उद्धार गरेको उहाँले जनाउनुभयो ।
सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बैजपुरमा रहेको ‘बथिनियाँ’ बाँधलाई कटैनी नदीको बाढीले भत्काएको स्थानीय प्रवीण चौधरीले जानकारी दिनुभयो । ‘बाँध भत्केपछि बाढी खेतमा गइरहेको छ’, उहाँले भन्नुभयो । ‘यसले धान खेतीमा क्षति हुने देखिएको छ ।’ गएको बुधबार आएको बाढीले जिल्लाको पूर्वी क्षेत्रमा डुबान गरेको थियो । बाढीको कारण भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा धेरै क्षति भएको छ ।