चित्र मिजार
सिन्धुपाल्चोक, साउन १९ गते । गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएकाे पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । याेसँगै मृतक सङ्ख्या दश पुगेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयाे ।
पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुँदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।
त्यस्तै, बाह्रबिसे नगरपालिका-२, कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङ भिरमा पहिरो आउँदा पाँच घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभएको थियो ।