विष्णुप्रसाद पोखरेल
दमक, साउन १९ गते । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिका सोमबार बिहानदेखि सिल भएको छ । एक महिला प्रहरीमा कोरोना सङ्क्रमण देखिएको र कन्ट्याक्ट ट्रेसिङमा केही ठाँउहरूमा गएको देखिएछि नगरपालिकामा बसेको सरोकारवालाहरूको बैठकले लकडाउन गर्ने निर्णय गरेको बताइएको छ ।
'औषधि पसल र दूध डेरीबाहेक खाद्यान्नका पसलहरू बिहान ८ देखि ११ बजेसम्ममात्र खोल्न पाउने गरी निर्णय गरिएको छ', बिर्तामोड नगर प्रमुख धुव्रकुमार शिवाकोटीले भन्नुभयो । लकडाउनलाई पूर्ण रुपमा पालना गराउनका लागि र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन नगरवासीलाई नगरपालिकाले सार्वजनिक सूचना गरिएको छ ।
यसभन्दा अघि पनि नगरपालिकाले केही दिन लकडाउन गरेर खुलाएको थियो । 'जोखिम न्यूनीकरणका लागि लकडाउन नै प्रभावकारी विकल्प भएको छ र यसलाई हामी सबैले पालना गर्नु पर्छ', प्रमुख शिवाकोटीले भन्नुभयो । अर्को सूचना जारी नभएसम्मका लागि लकडाउन गरिएको पनि नगरपालिकाले जनाएको छ ।
यसैगरी दुई दिनअघिदेखि झापाकै अर्जुनधारा नगरपालिका पनि सिल गरिएको छ । समुदायमा एक जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका सिल गरिएको हो । राजनीतिक दललगायत सरोकारवाला निकायहरूले लकडाउन गर्न सुझाव दिएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको नगर प्रमुख हरिकुमार रानाले बताउनुभएको छ । आइतबार मध्यरातिदेखि अर्जुनधारा नगरपालिकामा पाँच दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
पीसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक पर्ने सामग्री भिटिएम किट खरिद गर्ने पनि नगरपालिकाले निर्णय गरेको जनाइएको छ । नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार एक हजार थान भिटिएम किट खरिदका लागि आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय भएको छ ।