logo
२०८१ बैशाख १४ शुक्रवार

  स्वरुप र व्यवसाय गुमाएको फेवाताल  



डुङ्गा रोकिए, एक करोडको मेसिन बिग्रियो, जलकुम्भी जस्ताको तस्तै

प्रदेश |


डुङ्गा रोकिए, एक करोडको मेसिन बिग्रियो, जलकुम्भी जस्ताको तस्तै


तारा चापागाईं दुवे
पोखरा, साउन १९ गते । पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुन्थ्यो तर कोरोनाका कारण पोखरा सुनसान छ । पोखाराकै परिचय बनेको फेवाताललाई यतिबेला जलकुम्भी झारले ढपक्कै ढाकेको छ । अविरल वर्षा पानीको वेगसँगै अँधेरी खोला, हर्पन खोला, लौरुक खोला, बेतयानी खोलाको मुहानबाट आएको बाढीसँगै जलकुम्भी फेवातालमा आउने गर्छ । कोरोना महामारीका कारण यतिबेला ढुङ्गगा चलेका छैनन् । तालमा राखिएका ढुङ्गगा समेतलाई जलकुम्भीले ढाकेको छ । गत वर्ष पनि तालमा अत्यधिक जलकुम्भी झारले ताललाई कुरुप बनाउँदा पोखरा महानगरपालिकाले ताल सरसरफाइका लागि अग्रता देखाएको थियो ।

पोखरा महानगरपालिकाका मेयर उपमेयरलगायतको १३ सदस्यीय समितिले फेवताल सरसफाइलाई अभियानका रुपमा झार निकाल्ने काम भएको थियो । अभियानमा पोखरा विभिन्न सङ्घसंस्था पर्यटन व्यवसायीलगायतले साथ दिएका थिए ।

महानगरपालिकाका उपमेयर मञ्जु गुरुङले लकडाउनको समयमा जलकुम्भी  निकाल्न जलारीहलाई ज्यालामा काममा लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको समयमा जलारीलाई राहत होला भनेर काममा लगायौँ, ताल सफा पनि भयो र उनीहरूले काम पनि पाए, अब बाँकी जलकुम्भी हटाउने विषयमा कुनै निर्णय भएको छैन ।”

फेवा हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर जलारीले फेवातालमा पानीको सतहसँगै बर्सेनि जलकुम्भी झार तालको माथिल्लो क्षेत्रमा रहेको सीमसार क्षेत्रबाट बाढीसँगै बगेर फेवातालमा आउने गरेको बताउनुहुन्छ ।

फेवातालमा वर्षौंदेखि जलकुम्भीसँगै अर्को बन्दा झार पनि उत्तिकै आउने गरेको जलारी बताउनुहुन्छ । “झारले डुङ्गा चलाउन समस्या गर्छ, झारमा जाल अड्किने, च्यातिने हुन्छ । जलकुम्भी झारले ताललाई कुरुप बनाउनेसँगै माछालाई पनि असर गर्ने हाम्रो पेशा पनि सङ्कटमा पर्छ ।” उहाँले बन्दाबन्दीको समयमा महानगरले पाँच लाख बराबर रकमको जलकुम्भी फाल्ने काम लगाएको बताउनुभयो । “२० लाखमा सकिने जति काम छ । पाँच लाखले मात्र सबै झार सकिएन् जति लगायो त्यति गरियो ।”

तालको सुन्दरता हराउँदै गएको सांसद राजिव पहारी बताउनुहुन्छ । तालको किनारामा मै जन्मिएका स्थानीय पहारी जलकुम्भी झारले ताल ढाक्दा तालको सुन्दरता कुरुप बनाएकोमा दुःख लाग्ने बताउनुभयो । “जलकुम्भी हटाउने दीर्घकालीन समाधान खोज्नु पर्छ । यसको स्थायी व्यवस्थापनको उपाय नभएसम्म हरेक वर्ष यस्तै हो ।” उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिकाले एक करोड खर्च गरेर झार फाल्ने फ्लोडिङ मेसिन ल्याएर केही समय प्रयोग गरेको थियो । उक्त मेसिन प्रभावकारी नहुँदा अहिले त्यसै थन्किएको छ । वडा नं ६ का वडा सदस्य हरि पहारीले गत वर्ष बेगनास तालमा झार निकाल्ने क्रममा मेसिन डुब्दा बिग्रन गएको बताउनुभयो । “मेसिन बिग्रियो बनाएर ल्यायाैँ, पुनः बिग्रिएर बनाउन लगिएको छ, आएपछि झार फाल्ने काम शुरु हुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?