देवराम प्रसाद यादव
सप्तरी साउन २२ गते । खानामा कीरा भेटिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि राजविराजस्थित साईकृष्णा मेडिकल कलेज आइसोलेसन कक्षमा सङ्क्रमितहरूले तोडफोड गर्नुका साथै खाना बहिष्कार गरेका छन् ।
सोही क्रममा सङ्क्रमितहरूले आफूहरूमाथि दुर्व्यहार गरेको भन्दै आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले सेवा बहिष्कार गरी आइसोलेसन छाडेका छन् । तनाव बढ्दै गएपछि अहिले आइसोलेसन स्थलमा सुरक्षाका लागि भीम दल गणबाट नेपाली सेनाको एक टोली परिचालन गरिएको छ ।
प्राप्त घटना विवरण अनुसार बिहीबार बिहानको खाना खाँदै गर्दा एक सङ्क्रमितको खानामा कीरा देखिएको थियो । सङ्क्रमितले कीरा भएको खाना खान दिएको भन्दै आक्रोशमा खाना फ्याँकेका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर दिएका थिए । तर, आक्रोशित सङ्क्रमितहरूले सो खाना पनि फ्याँक्नुका साथै भाँडाकुडा, टेबुल, कुर्सी र टेन्ट तोडफोड गरेका थिए ।
सम्झाउन पुगेका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि समेत सङ्क्रमितद्वारा आक्रमण हुन थालेपछि आइसोलेसनमा खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारी भागेर आफ्नो सम्पर्कमा आइपुगेको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिनुभयाे । उहाँका अनुसार यसअघि पनि विभिन्न बहानामा केही सङ्क्रमितले त्यहाँ खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने गरेकोले त्यस्ता उच्छृखङ्ल कार्यमा संलग्न व्यक्तिलाई कारबाही तथा अन्यत्र नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मी काममा नफर्किने अडान लिएका थिए ।
केही सङ्क्रमितले चार दिनअघि पनि आइसोलेसन कक्षमा निगरानीका लागि जडान गरिएको १० मध्ये तीन वटा सीसी क्यामरा फुटाइदिएको उहाँले बताउनुभयाे । उहाँले यसबारे प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जानकारी गराइसकिएको बताउनुभयाे ।
स्थानीय प्रशासनको पहलमा स्वास्थ्यकर्मीहरू आइसोलेसनमा फर्किएका छन् । होहल्ला गर्ने व्यक्तिको उचित व्यवस्थापन गर्ने प्रशासनको प्रतिबद्धतापछि स्वास्थ्यकर्मीहरू काममा फर्केको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख झाले जानकारी दिनुभएकाे छ ।
चार जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित
यता, सोही आइसोलेसनमा स्वास्थ्य सेवाका लागि खटिएका चारजना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् । डा. झाका अनुसार सङ्क्रमित को उपचारमा सो आइसोलेसन वार्डमा खटेका चार जनाको बिहीबार प्राप्त पीसीआर परीक्षण रिपोर्टले कोरोना पोजिटिभ भएको पुष्टि भएको छ । चारै जना स्वास्थ्यकर्मीलाई छुट्टै आइसोलेसन कक्षमा राखिएको उहाँले जानकारी दिनुभयो ।