logo
२०८१ फाल्गुन ३० शुक्रवार



भर्ना नलिएर अस्पताल घुमाउँदा घुमाउँदै युवतीको मृत्यु, काेराेना सङ्क्रमणको आशङ्का

प्रदेश |
फिचर |


भर्ना नलिएर अस्पताल घुमाउँदा घुमाउँदै युवतीको मृत्यु, काेराेना सङ्क्रमणको आशङ्का


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २४ गते । पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शङ्कास्पद कोभिड सङ्क्रमितको रुपमा उपचाररत २० वर्षीया युवतीको गएराति २ बजे मृत्यु भएको छ ।

कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहले शङ्कास्पद काेराेना सङ्क्रमितकाे रुपमा भर्ना भई उपचाररत वीरगञ्ज–२ छपकैयाकी २० वर्षीय युवतीको मृत्यु भएको बताउनुभयाे ।

अस्पतालका डा. जे.पी. जयसवालले महिलाको स्बावको नमूना सङ्कलन गरी पीसीआर परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकाले साँझसम्म रिपाेर्ट आइसक्ने उहाँले बताउनुभयो ।

चार-पाँच दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेकी ती महिलालाई उपचारको लागि समयमा अस्पताल नल्याइएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजाँदालैजाँदै समयमा उपचार हुन नपाई मृत्यु भएको डा. सिंह दाबी गर्नुहुन्छ । अस्पतालहरूले मानवता नै बिर्सिएर सिकिस्त बिरामीहरूको उपचार नै गर्न छाडेकाले पछिल्ला केही दिनयता मानिसहरूले अकालमा ज्यान गुमाइरहेको वीरगञ्ज-४, विर्ताका अजित भुजेल बताउनुहुन्छ ।

तीन महिलालाई शुक्रबार एकपछि अर्को गर्दै वीरगञ्जका निजी अस्पतालहरू एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल र नेशनल मेडिकलले भर्ना गरी उपचार गर्न नमानेको मृतकका आफन्तहरू बताउनुहुन्छ ।

निजी अस्पताल मात्र नभई सरकारी अस्पताल नारायणी अस्पतालका ड्युटीमा रहेका कर्मचारीहरूले समेत बिरामीलाई उपचार गर्न नमानेपछि उनीहरूकै सुझावअनुसार अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको परिवारले बताएका छन् । त्यहाँ पनि कोरोना सङ्क्रमितको मात्र उपचार गरिने भन्दै फर्काएपछि नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहको सिफारिसमा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा उपचार सुरु गरिएको थियो ।

पछिल्लो समय वीरगञ्जमा बिरामी अस्पतालसम्म लैजान एम्बुलेन्स नै नपाइने भएपछि ईरिक्सामा राखेर बिरामीहरूलाई अस्पतालसम्म पुर्याउने गरिएको छ । बिरामी सिकिस्त देखिएमा कुनै पनि अस्पतालले भर्ना नलिने भएकाले बिरामीलाई एउटा अस्पतालदेखि अर्को अस्पताल लग्दैमा बिरामीको स्वास्थ्य अवस्था अझ बिग्रिएर मृत्युसम्म हुने गरेको छ ।

शुक्रबार पनि वीरगञ्ज-३ छपकैयामा मधुमेह तथा दम रोगका दीर्घरोगी रहेका ७४ वर्षीय वृद्धलाई स्वास लिन गाह्रो भएपछि वीरगञ्जका विभिन्न निजी अस्पताल घुमाउँदै अन्तमा वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राति साढे १ बजे मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताले बिरामीकाे उपचार नगरेको गुनासो आएको जनाउँदै अब उप्रान्त बिरामी उपचार नगरी त्यसै फर्काएको पाइएमा सम्बन्धित अस्पताललाई कारबाही गरिने सूचना बिहीबार जारी गरेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?