नवीन शिशिर
गल्कोट, साउन २४ गते
बगलुङ नगरपालिकामा समुदाय स्तरमा कोरोना परीक्षण सुरु भएको छ । स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा बागलुङ नगरपालिकाको विभिन्न वडामा समुदायस्तरमा कोरोना परीक्षणको लागि स्वाब सङ्कलन सुरु गरिएको छ ।
शनिबार र आइतबार गरी दुई दिनभित्र दुई सय जनाको नमुना सङ्कलन गरी कोरोना परीक्षण गर्ने बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
समुदायको अग्रपङ्क्तिमा रहेर सेवा गर्ने व्यक्तिहरूको नमुना सङ्कलन गर्ने स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ । धौलागिरी अस्ताल र बागलुङ प्रवेश नाका मालढुङ्गामा नमुना सङ्कलन थालिएको छ ।
नमुना सर्वेक्षण विधि, अवलम्बन गरी सुरक्षाकर्मी, पत्रकार/सञ्चारकर्मी, निजामति कर्मचारी, बैङ्क कर्मचारी, तरकारी पसलमा काम गर्ने, खाद्यान्न पसल, सैलुन, ब्युटीपार्लर, वर्कसपका काम गर्ने मिस्त्री, होटल तथा रेष्टुरेन्ट सञ्चालक सरसफाइ कर्मचारी, फोहोर सङ्कलन केन्द्र (डम्पिङ्ग साइट) का मजदुर निजी तथा सरकारी सवारी चालक एवम् सञ्चारकर्मीमा सङ्क्रमणको अवस्था बुझ्न स्वाब सङ्कलन गरिएको छ ।
स्वाब सङ्कलनमा स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका र धौलागिरी अस्पतालका प्राविधिकहरू खटिएका छन् । बागलुङ नगर जिल्लाको सदरमुकाम भएकाले मानिसहरूको चहलपहल बढी हुँदा जोखिम पनि बढी हुन्छ’ स्वास्थ्य शाखा प्रमुख खनालले भन्नुभयो, ‘बजार क्षेत्रको समुदायस्तरमा सङ्क्रमणको स्थिति थाहा पाउन नमुना परीक्षण थालिएको हो ।’
स्वाब सङ्कलनपछि परीक्षणको लागि पोखरा पठाइने छ । नमुना सङ्कलनको लागि गण्डकी प्रदेश सरकारले भिटिएम उपलब्ध गराएको छ । बढी चहलपहल हुने क्षेत्र र जोखिम क्षेत्रका मजदुरको पनि नमुना सङ्कलनको लक्ष्य रहेकाले दुई सय बढीको स्वाब सङ्कलन हुने स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ ।