logo
२०८१ चैत्र १ शनिवार



सप्तरीमा हालसम्म नौ हजार पाँच सय जनाको पीसीआर परीक्षण

प्रदेश |


सप्तरीमा हालसम्म नौ हजार पाँच सय जनाको पीसीआर परीक्षण
तस्विर- धीरेन्द्रप्रसाद साह,राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा स्वाब परीक्षण गर्दै स्वास्थ्यकर्मी ।


धीरेन्द्रप्रसाद साह
राजविराज, साउन २४ गते । सप्तरीमा साढे नौ हजार जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ल्लामा हालसम्म विभिन्न क्वारेन्टाइनमा बसेका, सङ्क्रमितको सीधा सम्पर्कमा आएका व्यक्ति तथा शङ्कास्पद व्यक्तिलगायत गरी नौ हजार ४१५ जनाको स्वाब सङ्कलन गरी कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

पीसीआर परीक्षण गरिएकामध्ये सात हजार ९२१ जनाको रिपोर्टमा नेगेटिभ आएको र हालसम्म ५५७ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँले जानकारी दिनुभयो । पीसीआर परीक्षण गरिएका ९३७ जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरूको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान, कोशी अञ्चल अस्पताललगायतको प्रयोगशालामा परीक्षण गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिनुभयो ।

राजविराज अस्पतालमा पीसीआर मेसिन जडानअघि जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक अस्पताल जनकपुरधाममा समेत स्वाब परीक्षण गराएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “पीसीआर मेसिन जडान भएदेखि अधिकांश स्वाबको परीक्षण राजविराजमै सम्भव हुन थालेको छ ।”

जिल्लामा कुल सङ्क्रमित ५५७ मध्ये ३८५ जना निको भएर डिस्चार्ज भई घर फर्किसकेको जानकारी दिँदै निमित मेसु झाले अहिले राजविराजस्थित आइसोलेसन केन्द्रमा ११३ जना सङ्क्रमित उपचाररत रहेको बताउनुभयो । यसबाहेक ३५ जना सङ्क्रमित तिलाठी कोइलाडी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा भर्ना भएका छन भने केही सङ्ख्यामा होम आइसोलेसनमा रहेका छन । जिल्लाको विभिन्न स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टाइनमा २७५ र होम क्वारेन्टाइनमा २२९ गरी ५०४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।

यसैगरी, स्वास्थ्य कार्यालयले एक हजार ९२१ र गजेन्द्र नारायण सिंह अस्पतालले ५२१ जना गरी एक हजार ४४२ जनाको आरडीटी गरिएको छ । आरडीटी गरिएकामध्ये ६२ जनाको रिपोर्टमा पोजिटिभ आएपछि पीसीआर गर्दा ५९ जनाको नेगेटिभ र तीन जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणबाट दुई जना पुरुषको मृत्यु भइसकेको छ । गत साउन १ गते राजविराज नगरपालिका-६ बस्ने ७३ वर्षीय वृद्ध व्यापारी र २१ गते रुपनी गाउँपालिका वडा नं. ५ बस्ने ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?