logo
२०८१ बैशाख २५ मंगलवार

  सङ्क्रमण नियन्त्रणमा सफल बन्दै दैलेख  



कुल ९३४ मध्ये २५ जना मात्र सक्रिय सङ्क्रमित बाँकी

प्रदेश |


कुल ९३४ मध्ये २५ जना मात्र सक्रिय सङ्क्रमित बाँकी


कमल शर्मा
दैलेख, साउन २५ गते । गत जेठ ५ गते कर्णाली प्रदेशमा दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. १ सात्तलाका ३५ वर्षीय युवकमा पहिलो कोरोना सङ्क्रमण पुष्टि भयो । उहाँ ४१ दिन भारतको वनवासमा क्वारेनटाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आउनुभएको थियो ।
सीमापारि भारतको वनवासमा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत ३१ गते सङ्क्रमित युवासँगै ३९ जनालाई उद्धार गरी ल्याइएको थियो । उद्धार गरी ल्याइएका ३९ जनालाई नगरपालिका वडा नः १ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा क्वारेनटाइनमा राखेर स्वाब परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण भएको थियो ।
त्यसयता लगातार दैनिक १२० जनासम्ममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सरकारले दैलेखलगायत चार जिल्लालाई कोरोनाको हटस्पट भएको भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

कर्णाली प्रदेशको सबैभन्दा बढी कोरोना सङ्क्रमण पुष्टि भएको दैलेख कोरोनाको रेडबाट ग्रिन जोनतर्फ प्रवेशको चरणमा रहेको छ । चार महिनादेखि कोरोना महामारी समस्या झेल्दैआएको दैलेखमा पछिल्ला दिन कोरोनाका बिरामीहरू घट्दैगएपछि ग्रिन जोनमा झार्नका लागि जिल्लाको सुरक्षा, स्वास्थ्य र स्थानीय तह त्यसतर्फ केन्द्रित भएका छन् । जिल्लाका ११ स्थानीय तहमा रहेको दैलेखमा शनिबारसम्म ९३४ जना कोरोनाका बिरामीमध्ये ९०९ जना कोरोना मुक्त भई डिस्चार्ज भएको र २५ जना आइसोलेसनमा राखेर उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय, दैलेखको विवरणमा उल्लेख गरिएको छ ।

कोरोना विपद् व्यवस्थापन समिति दैलेखका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले कोरोना परीक्षणका लागि दुई वटा तरिका अवलम्बन गरी परीक्षण गर्दा रिपोर्ट सन्तोषजनक आएपछि दैलेख ग्रिन जोनतर्फ प्रवेश गरेका बताउनुभयो । उहाँले जिल्ला स्तरको कोरोना विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकारहरू र नागरिकहरूले देखाएको सतर्कताका कारण दैलेखमा कोरोनाका बिरामी बढ्न नपाएकाले त्रासमा रहनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'हामी कुनै बेला कोरोना सङ्क्रमण समुदायमा जाने र ठूलो समस्या पैदा हुन्छ कि भन्ने अवस्थामा थियो । त्यो बीचमा हामीले ठूलो कठिनाइ भोग्नुपर्यो । त्यही कठिनाइको परिणामले अहिले हामी कोरोनाको रेड जोनबाट ग्रिन जोनतर्फ फर्कने तयारीमा छौँ ।'

स्वास्थ्य कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले पछिल्ला दिनहरूमा समुदायस्तरमा समेत कोरोना सङ्क्रमण फैलियो कि भन्ने आशङ्कामा दैलेखका ११ स्थानीय तहका विभिन्न वडामा बस्ने नागरिकको स्याम्पलका रूपमा ७० वर्ष माथिकाको पीसीआर परीक्षण गरिएको बताउनुभयो । उहाँले कन्ट्याक ट्रेसिङबाट कोरोना पोजिटिभ नदेखिनु, आइसोलेसनमा रहेका धेरै बिरामी उपचारपछि घर फर्किएका कारण दैलेख रेड जोनबाट ग्रिन जोनमा प्रवेशको चरणमा रहेको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य कार्यालयको आइसोलेसनमा १५ जना, दुल्लु अस्पतालको आइसोलेसनमा एक जना, महाबु आइसोलेसनमा आठ जना, डुङ्गेश्वर आइसोलेसनमा एक जना गरी २५ जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।

नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले व्यवस्थापन कमजोर भएका कारण कोरोना सङ्क्रमणदर बढे पनि पछिल्लो समय व्यवस्थापन राम्रो र सुरक्षा सम्वेदनशीलता बढाएसँगै कोरोना सङ्क्रमणदर घट्दो अवस्थामा रहेको बताउनुभयो । उहाँले भारतबाट उद्धार गरेर ल्याइएका नागरिकको पीसीआर परीक्षण गर्दा रिपाेर्ट ढिला आएका कारण पनि कोरोना बढेको बताउँदै दैलेखमै पीसीआर प्रयोगशाला आएपछि सहज भएको बताउनुभयो ।

यो चार महिनामा कोरोना सङ्क्रमितलाई राख्नको लागि आइसोलेसन अस्पताल निर्माण गरेर र पीसीआर ल्याब सञ्चालनमा ल्याएपछि धेरै सहज भएको भन्दै त्यसको समन्वय गर्ने प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्मा र प्रदेश सांसद अम्मर थापालाई विशेष धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?