logo
२०८१ चैत्र १ शनिवार



सप्तरीमा एक स्थानीय तहद्वारा एक सय शय्याको आइसोलेसन निर्माण

प्रदेश |


सप्तरीमा एक स्थानीय तहद्वारा एक सय शय्याको आइसोलेसन निर्माण



देवराम प्रसाद यादव
सप्तरी साउन २५ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि एक सय शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिका-२ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याइएको उक्त आइसोलेसनमा आइतबारसम्ममा सो गाउँपालिकाका २८ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
यस गाउँपालिकामा अहिलेसम्ममा ८३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भइसकेको छ । अन्य सङ्क्रमितलाई यसअघि नै राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राखिएको छ ।
जिल्लामा दैनिक कोरोना सङ्क्रमित फेला पर्न थालेपछि राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको १७८ शय्याको आइसोलेसन भरिभराउ हुन लागेका कारण थप आइसोलेसनको आवश्यकता महसुस गरी गाउँपालिकाले आफ्नै लगानीमा एक सय शय्याको आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
सप्तरीमा आइतबारसम्ममा कुल सङ्क्रमितको सङ्ख्या ५७२ रहेको छ । जसमध्ये राजविराज नगरपालिकाका सर्वाधिक ११४ जना रहेका छन् । जिल्लामा बढी सङ्क्रमित रहेका स्थानिय तहमध्ये तिलाठी कोइलाडी गाउँपालिका दोश्रो स्थानमा छ । उक्त गाउँपालिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या ८३ पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसारको आइसोलेसन केन्द्र निर्माण गर्ने प्रयास गरिएपनि बजेट र जनशक्तिको अभावका कारण भेन्टिलेटर र आइसियुको व्यवस्था भने गर्न नसकिएको अध्यक्ष सिंह बताउछन् । यद्यपि विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड र मान्यताअनुसारका खाद्यवस्तु प्रयोग गर्दै सोही कार्यविधिअनुसार उक्त सेन्टरमा भोजन व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वच्छ खानेपानी, शौचालयलगायत सुविधाका साथै एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षित रुपमा सङ्क्रमितहरु समक्ष पुर्याउने व्यवस्था मिलाइएको र आइसोलेसनमा दुई स्वास्थ्यकर्मीसहित नौजना कर्मचारी परिचालित रहेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?