logo
२०८१ बैशाख २६ बुधवार



पर्सामा २१ महिलासहित ७० सङ्क्रमित थपिए

प्रदेश |


पर्सामा २१ महिलासहित ७० सङ्क्रमित थपिए


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २७ गते । पर्सामा पछिल्लो पटक २१ जना महिलासहित थप ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरी सोमबार राति अबेर र मङ्गलबार बिहान सार्वजनिक गरिएको परीक्षण रिपाेर्टअनुसार पर्सामा थप ७० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय, पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले पछिल्लो रिपाेर्टअनुसार सोमबार राति ५५ जना र मङ्गलबार बिहान १५ जना गरी थप ७० जनामा कोरोना सङ्क्रमण देखिएको गोरखापत्रलाई बताउनुभयो । जसमध्ये पर्साका ६५ जना र बारा घर भई पर्सामा बसोबास गर्दैआएका पाँच जना रहेका छन् ।

कन्टयाक्ट ट्रेसिङ्गमा परेका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, प्रहरी, थुनुवासहित सर्वसाधारण गरी ४९ जनामा सङ्क्रमण पुष्टि भएको र ज्वरो, रुघाखोकी, पखाला लागेर शङ्का लागी आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएकाहरूमध्येबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक ठाकुरले दिनुभएको जानकारीअनुसार नेशनल मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी, भवानी अस्पताल वीरगञ्जका चार जना अस्पतालका कर्मचारी र पर्साको धोबिनी गाउँपालिकाका एक स्वास्थ्यकर्मीका सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वार्टरमा बस्दैआएकी ३५ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय विर्ताका तीन जना थुनुवा र चार जना प्रहरीमा समेत सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार हालसम्म पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । क्वारेन्टिनमा खटिएका प्रहरीबाहेक भिडभाडमा खटेर ड्युटी गर्ने प्रहरीहरूमा समेत सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै अन्य थपिएका नयाँ सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिका-४ विर्ताका नाै जना, वडा नं. १ र ६ का पाँच/पाँच जना, वडा नं. १० का चार जना, वडा नं. १२, १३, र १६ का दुई/दुई जना तथा वडा नं. ३, ७ र १५ का एक/एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

आफैँ पैसा तिरेर पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका २१ जनामा वीरगञ्ज–१३ का ३५ वर्षीय, वीरगञ्ज–४ विर्ताका २४ वर्षीय, वीरगञ्ज–१० आदर्शनगरका ४८ वर्षीय पुरुष, ४५ वर्षीया महिला, वीरगञ्जकै ३७ वर्षका पुरुष र नारायणी अस्पतालमा भर्ना भएका वीरगञ्ज–१५ भिष्वाका ४५ वर्षीय पुरुष, वीरगञ्ज– ७ रामटोलका ५५ वर्षीया महिला र वीरगञ्ज–१६ नगवाका ६१ वर्षीय पुरुष, वीरगञ्ज– १० लिङ्क रोडका २९ वर्षीय, वीरगञ्ज–६ रेशमकोठीका ३८ वर्षीय पुरुष, वीरगञ्ज–६ माइस्थानका ४८ वर्षीय पुरुष, १८ वर्षीय युवक र २१ वर्षीया युवती, वीरगञ्ज–४ विर्ताका ७६ वर्षीय वृद्ध, वीरगञ्ज–१२ मुर्लीकी ५५ वर्षीया महिला र वीरगञ्ज–१५ भिष्वाका १५ वर्षीय पुरुष र वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–३ का ३० वर्षीया महिला र तीन वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित सिमरा क्वारेन्टिनका ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा आफैँ पैसा तिरेर गराएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो ।

सोमबार राति अबेर र मङ्गलबार बिहान गरी थप ७० जनामा सङ्क्रमण पुष्टि भएसँगै पर्सामा जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार ११० पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि आइतबार राति पनि पर्सामै स्वास्थ्यकर्मी र प्रहरीसहित २२ जनामा सङ्क्रमण भेटिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?