गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । नेपाल पत्रकार महासङ्घका पूर्वसचिव एवम् कान्तिपुर दैनिकमा आबद्ध पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले पत्रकार बानियाँको मृत शरीर मङ्गलबार बिहान ११ बजे मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको बताउनुभयो । बानियाँको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएपछि कान्तिपुर पब्लिकेशनले प्रहरीलाई खबर गरेको थियो । राजधानीको बल्खुचोकमा सोमबार पौने चार बजे प्रहरीको गस्ती टोलीले उहाँलाई सोधपुछ गरेको थियोे । बानियाँ पुलमुनि जाँदै गर्दा उहाँको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि पानीको बहावले बगाएको स्थानीयले प्रहरीलाई जानकारी गरेको एसएसपी थापाले जानकारी दिनुभयो ।
बानियाँ तीन दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध हुनुहुन्थ्यो । मृतक बानियाकाँ श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँले नेपाल पत्रकार महासङ्घका पूर्वसचिव समेत रहेर काम गर्नुभएकाे नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।