मनोज भट्टराई
ओखलढुङ्गा, साउन २९ गते । पछिल्लो समय ओखलढुङ्गाका प्राय सबै क्वारेन्टाइनहरू खाली भएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्यामा शून्य भएपछि र अन्यत्रबाट जिल्ला आउनेको सङ्ख्या न्यून भएपछि जिल्लाका स्तानीय तहले निर्माण गरेका प्रायः सबै क्वारेन्टाइन रित्तै भएका हुन् ।
विदेशबाट आएकाहरूलाई हर्कपुरमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखी रुम्जाटार र सदरमुकाममा रहेको क्वारेन्टाइनमा राखिएको छ । हाल जिल्लामा रहेको एउटा होल्डिङ सेन्टर र सदरमुकाममा रहेका क्वारेन्टाइनमा १०७ जना रहेका भए पनि स्थानीय तहमा निर्माण भएका क्वारेनटाइन खाली रहेका छन् । गाउँपालिकाले १२ स्थानमा ५९ शय्याको क्वारेन्टाइन निर्माण गरेको र हाल १० जना क्वारेन्टाइनमा भए पनि गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा हाल कोही नभएको खिजीदेम्वा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताउनुभयो । चम्पादेवी गाउँपालिकाले वडा नं. २ को नवलपुर घाटमा ५० सहित ९० शय्याको क्वारेन्टाइन निर्माण गरिएको भए पनि हाल गाउँपालिकाले निर्माण गरेका बैवै क्वारेन्टाइन खाली नै रहेका छन् । जिल्लाको पूर्वी नाकामा रहेको चिसङ्खुगढी गाउँपालिकाले २० शय्याको पाँच स्थानमा क्वारेन्टाइन बनाएको भए पनि हाल क्वारेन्टाइन खाली नै रहेको तथ्याङ्क रहेको छ ।
सिद्धिचरण नगरपालिकाले रुम्जाटार माविमा ५० तथा सदरमुकाममा रहेको सगरमाथा जनता मावि र ओखलढुङ्गा क्याम्पसमा २५–२५ गरी १०० शय्याको क्वारेन्टाइन रहेकामा हाल रुम्जाटार माविमा ४७ जना तथा ओखलढुङ्गा क्याम्पसमा सात जना रहेका छन् । क्वारेन्टाइनमा रहेका सबै प्रायः अन्य स्थानीय तहका रहेको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । मानेभञ्ज्याङको हर्कपुर रहेको होल्डिङ सेन्टरमा एक महिला र २९ पुरुष गरी ३० जना रहे पनि अन्य १० वटा क्वारेन्टाइन रित्तै रहेका छन् । मानेभञ्ज्याङमा होल्डिङ सेन्टरसहित ११३ शय्याका ११ वटा क्वारेन्टाइन रहेका छन् ।
त्यस्तै मोलुङ गाउँपालिकाले शहीद आदर्श क्याम्पस रामपुरमा २५ शय्या सहित ५४ जना सम्म राख्न सकिने गरी विभिन्न स्थानमा बनाइएका क्वोन्टाइन खाली रहेको गाउँपालिका अध्यक्ष मणिकुमार राईले जानकारी दिनुभयो । लिखु गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा पछिल्लो समय कोही नरहे पनि विदेशबाट आएका साथीहरू एकान्तवासमा बसिदिनुहोला भनेर आग्रह गरिरहेको लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुङ्गेलले बताउनुभयो । गाउँपालिकाले विभिन्न स्थानमा २८ शय्याको क्वारेन्टाइन निर्माण गरेको थियो । सुनकोशी गाउँपालिकाले गाउँपालिकाका १२ स्थानमा १११ शय्याको क्वारेन्टाइन निर्माण गरेको भए पनि हाल कुनै क्वारेन्टाइनमा कोही नभएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारले जानकारी दिनुभयो ।
जिल्लाको समग्र वस्तुस्थिति विषयमा जानकारी सङ्कलन गरिरहेको ‘-यापिड रेस्पोन्स’ टिमले सार्वजानिक गरेको तथ्याङ्कमा पनि अहिले स्थानीय तहले निर्माण गरेको क्वारेनटाइनमा कोही पनि छैनन् । अनुगमन, ट्रेसिङ, सुरक्षालगायत जिम्मेवारी यो पोस्टलाई रहेको जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले बताउनुभयो । पोष्टले बैठक बसेर माथिका निर्देशनहरूको पालना गर्ने काम मात्रै भएको उहाँको भनाइ छ । जिल्लामा धेरै मानिसहरू वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरूको तथ्याङ्क अद्यावधिक गर्ने काम स्थानीय तहहरूले अझै सकेका छैनन् । हाल सम्म जिल्लामा ६०५ जनाको आरडीटी र ७४९ जनाको पीसीआर परीक्षण गरेकोमा सात जना ओखलढुङ्गाका नागरिक र १५ भारतीय नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि हाल सबै जना सङ्क्रमणमुक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद भट्टराईले बताउनुभयो ।