नवीन शिशिर विक
बागलुङ, साउन ३२ गते । आन्तरिक राजस्व कार्यालय बागलुङलाई एक हप्ताको लागि सिल गरिएको छ । राजस्व कार्यालयमा कार्यरत कर्मचारी बागलुङ बजारमा होटल व्यवसाय गर्ने कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा आएको खुलेपछि कार्यालयलाई आइतबार सिल गरिएको हो ।
धौलागिरी अस्पताल अगाडि होटल व्यवसाय गर्दै आएकी ३६ वर्षीय महिलामा शनिबार कोभिड–१९ को पुष्टि भएको थियो । कार्यालयमा कार्यरत छ जना कर्मचारीले सो होटेलमा दैनिक खाना खाने गरेका थिए । खाना खुवाउने व्यवसायीलाई सङ्क्रमण देखिएपछि कार्यालयका अनलाईनबाहेकका अन्य सबै सेवा बन्द गरिएको कार्यालय प्रमुख हेमराज सुवेदीले जानकारी दिनुभयो ।
“साथीहरू सङ्क्रमितको सम्पर्कमा आएकोले एक सातालाई कार्यालय सिल गरिएको छ” कार्यालय प्रमुख सुवेदीले भन्नुभयो, “सबै साथीलाई होम क्वारेन्टाइनमा बस्न भनेका छौँ ।” सम्पर्कमा रहेका कर्मचारीको पाँच दिनपछि स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइने छ । कर्मचारी सङ्क्रमितको सम्पर्कमा रहेको खुलेलगतै जिल्ला कमाण्ड पोष्ट र राजस्व विभागको निर्देशनमा कार्यालय सिल गरिएको हो ।
सङ्क्रमित व्यवसायीको होटलमा धौलागिरी अस्पतालका कार्यारत स्वास्थ्यकर्मीहरूले पनि खाना, खाजा खाँदैआएका थिए । स्वास्थ्यकर्मीलाई कोरोनो पुष्टि भएपछि उहाँको कन्ट्याक्ट ट्रेसिङअन्तर्गत स्वास्थ्य परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो ।
बागलुङमा साउनको तेस्रो सातायता स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिमा कोरोना देखिएको छ । बागलुङमा चैत्त महिनायता पाँच हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हाल जिल्लाका विभिन्न आइसोलेसनमा २१ जना सङ्क्रमित उपचाररत रहेका छन भने २४५ जना कोरोना जितेर घर फर्केका छन् ।