दीपक गाैतम
वीरगञ्ज, भदौ १ गते । आइतबार साँझ र राती आएको पीसीआर रिपाेर्टअनुसार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार साँझ ३३ जना र राति ६५ जना गरी आइतबार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिकाका ४१ जना, पोखरिया नगरपालिकाका ३३ जना, सखुवा प्रसौनी गाँऊपालिकाका सात जना र जगरनाथपुर गाँऊपालिकाका १५ जना, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी दुई जना गरी थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका ९८ जना सङ्क्रमितहरूमा पोखरिया नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षकसहित दुई जना र एक जना पत्रकारलगायत रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाका ४१ जना र वीरगञ्ज भन्सार कार्यालयमा खटिएका दुई जना सशस्त्र प्रहरीमा सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिकाको त्रिजुद्ध माध्यमिक विद्यालयमा साउन २७ गते सङ्कलन गरिएको स्वाब परीक्षण गर्दा एक जना चिकित्सक र ११ जना महिलासहित २७ जनामा, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा साउन २६ गते गरिएको स्वाब सङ्कलन गराएकामध्ये ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर खत्री, त्यही कार्यरत अर्का एक सशस्त्र प्रहरी जवानमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिकाका पाँच जना स्वास्थ्यकर्मीसहित १५ जनामा पुरुष सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रमेन्द्र साहसहित पाँच जना स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका हुन् भने अन्य वडा नम्बर ३ र ४ का क्वारेन्टाइनमा बसेका १४ वर्षदेखि ५१ वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै पर्साको पोखरीया नगरपालिका मेयर दीपनारायण रौनियार, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवसहित तीन चिकित्सक, दुई नर्स र पोखरीयास्थित आकाश एफएममा कार्यरत एक पत्रकारमा सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकाकी उपप्रमुख सलमा खातुनका अनुसार ३३ जना सङ्क्रमितमा नगरप्रमुख दिपनारायण रौनीयार, उनका परिवारका अन्य सात जना सदस्य, स्वकीय सचिव, सवारी चालकमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साउन २६ गते पोखरीया नगरपालिकामा नगरप्रमुख रौनियारसहित ३४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकोमा आइतबार साँझ ३४ मध्ये ३३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको उपप्रमुख खातुनले जानकारी दिनुभयो ।
त्यस्तै अन्य सङ्क्रमितमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव, पाँच स्वास्थ्यकर्मी र अन्य एक जना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले बताउनुभयो । सङ्क्रमण पुष्टि भएका चार स्वास्थ्यकर्मीमा लखनपुर स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा कार्यरत एक/एक जना महिला र एक/एक जना पुरुष रहनुभएको छ । वडा नं. ४ देउरवाना एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । ७१ जनाको स्बाव परीक्षण गर्दा सात जनामा कोरोना पोजिटिभ देखिएको संयोजक रौनियारले जानकारी दिनुभयो ।