logo
२०८१ मंसिर १३ बिहीवार



बागलुङ नगरका तीन वडा सिल

प्रदेश |
समाज |


बागलुङ नगरका तीन वडा सिल


नवीन शिशिर विक
बागलुङ, भदौ १ गते । बागलुङ नगरपालिकाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाका तीन वटा वडाले आ–आफ्नो वडा सिल गरेका छन् । समुदाय स्तरमा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा रहेको सबै व्यक्तिको स्वाब परीक्षण प्रतिवेदन नआएसम्मको लागि वडा कार्यालयबाट हुँदैआएका सेवा प्रवाहसमेत रोकिएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर २, ३ र ४ ले सार्वजनिक सूचना जारी गर्दै वडा क्षेत्र सिल गरेको घोषणा गरेको हुन् । उनीहरूले अनावश्यक हिँडडुल नगरी कोभिड रोकथामको सामूहिक प्रयासमा साथ दिन अनुरोध गरेका छन् । बागलुङ नगरपालिका–३ की ३० वर्षीया महिलालाई आइतबार कोरोना पुष्टि भएको थियो ।
उहाँको कुनै यात्रा वृत्तान्त छैन । कहाँबाट कसरी सङ्क्रमण भयो भन्ने बारे जानकारी नभएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

समुदाय स्तरमा लक्षणसहित कोरोना सङ्क्रमण देखिएपछि सतर्कताको लागि वडा सिल गर्नुपरेको बानपा–२ का वडाध्यक्ष जीवन आचार्यले बताउनुभयो ।
“सङ्क्रमणको जोखिम बढ्दै छ” उहाँले भन्नुभयो, “सङ्क्रमित महिलासँग सम्पर्कमा रहेका व्यक्तिको स्वास्थ्य प्रतिवेदन नआउने बेलासम्म कडाइ गर्नुपर्ने देखियो ।” अनावश्यक हिँडडुल, भिडभाड रोकथाममा प्रशासनले कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस समाजमा फैलिन थालेपछि सोमबार १२ बजेपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरी लकडाउन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष युवराज राजभण्डारीले विज्ञप्ति जारी गरी कोरोना फैलिँदै गएकाले थप सजग हुनुपर्ने स्थिति आएको भन्दै राति १२ बजेदेखि आन्तरिक लकडाउन गर्न आग्रह गर्नुभएको हो । नयाँ कोरोनाका सङ्क्रमित दिनदिनै थपिँदै गएकाले एक हप्ताका लागि लकडाउन गर्न आग्रह गरिएको हो ।
सरकारले लकडाउन खुकुलो पारेसँगै कोरोना सङ्क्रमित बढेको र सबैभन्दा ठूलो सम्पत्ति मानव स्वास्थ्य भएकाले खाद्य सामग्री, मासुजन्य, दूग्धजन्य, पानी, औषधी, सरसफाइ सामग्री, तरकारी, ग्यास, पेट्रोलियम पदार्थलगायत अत्यावश्यकबाहेक सबै पसलहरू बन्द गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामग्री उत्पादन, बिक्री वितरण गर्ने उद्योग तथा पसलहरू आफू सुरक्षित रहेर बिहान साढे सात बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै कारोबार गर्न आग्रह गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?