logo
२०८१ चैत्र ३ सोमवार



वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |
फिचर |


वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु


दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ ३ गते । वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना सङ्क्रमित र नारायणी अस्पतालमा उपचाररत एक बिरामीको मृत्युपछि गरिएको स्वाब परीक्षणमा सङ्क्रमण देखिएसँगै वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो ३ बजे मृत्यु भएका वीरगञ्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषमा मृत्युपश्चात गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो भने वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालमा साउन २७ गतेदेखि उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका ८४ वर्षीय वृद्धको उपचारका क्रममा गरिएको स्वाब परीक्षणमा सङ्क्रमण देखिएको थियो । मङ्गलबार राति साढे १० बजे ती ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो । निमोनियाका बिरामी ती वृद्धलाई साउन २७ गतेदेखि गण्डकस्थित कोभिड अस्पतालमा राखी उपचार गरिएकाे थियाे ।

उपचारका क्रममा मङ्गलबार अपरान्ह साढे ३ बजे मृत्यु भएका वीरगञ्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको सुरुमा भवानी अस्पतालमा र भवानीबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज लगिएपछि त्यहाँ भर्ना लिन नमानेपछि पुनः भवानी अस्पतालमा ल्याइएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि मङ्गलबार दिउँसो नारायणी अस्पतालमा लगिएको थियो । नारायणी अस्पताल पुर्याएको केही बेरमा नै ती व्यक्तिको मृत्यु भएको डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

मृत्युपश्चात स्वाब सङ्कलन गरी नारायणी अस्पालको प्रयोगशालामा जिन एक्सपर्ट विधिबाट पीसीआर जाँच गर्दा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

मङ्गलबार दुई जनाको मृत्यु भएसँगै पर्साको वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । साउन महिनायता २६ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका ३० जनामा पर्साका २२ जना, बाराका पाँच जना र रौतहटका दुई जना अनि जेठ ३१ गते बेवारिसे अवस्थामा मृत फेला परेर पहिचान खुल्न नसकेका एक सङ्क्रमित युवक रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?