दीपक ज्ञवाली
बुटवल, भदौ ४ गते । एक हातमा आयुर्वेद ओखतीको पोको,अर्को हातमा स्वास्थ्यलाभको पत्र । बुटवलका ‘मेयर’ शिवराज सुवेदी यी दुई कुरा बोकेर कोरोना सङ्क्रमितहरूका घरघरमा पुग्न थाल्नुभएको छ ।
उहाँले टाढैबाट सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सोध्नु हुन्छ, मनोबल बढाउने उपायहरू सुझाउनुहुन्छ । ओखतीको पोको र स्वास्थ्य लाभको कामना गरिएको पत्र दिँदै फर्किनुहुन्छ । उहाँका साथमा हुन्छ, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, वडा अध्यक्षहरू रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन, उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह लगायतको टोली ।
सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न र सङ्क्रमितहरूको मनोबल बढाउन सङ्क्रमितहरूकै घर (होम आइसोलेसन)मा पुग्ने अभियान थालेको ‘मेयर’ शिवराज सुवेदीले बताउनुभयो । पप्छिल्ला दिनहरूमा बुटवलमा सङ्क्रमणको जोखिम झन् बढ्दैगएको छ । सङ्क्रमण शुरु हुनुअघि नै कोरोना विशेष अस्पताल निर्माण भएको बुटवलमा क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरू सञ्चालनमा छन् ।
पछिल्लो पटक अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई सुरक्षित तरिकाले होम आइसोलेसनमा राख्न थालिएको छ । ‘मेयर’ सुवेदी तिनै होम आइसोलेसनमा भएका सङ्क्रमित र तिनका परिवारलाई भेट्ने अभियानमा जुट्नुभएको हो ।
उहाँले बुधबार एकै दिन बुटवलका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेसनका सङ्क्रमितलाई घरमै पुगेर भेटघाट गर्दै स्वास्थ्य लाभको कामना गर्नुभयो । यस्तो प्रकृया जारी राखिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माका भनाइमा यस्तो अभियानमार्फत सावधानीका उपाय, सुरक्षा प्रबन्ध जस्ता कुराहरूको पनि जानकारी गराउने गरिएको छ ।
बुटवलमा दिनदिनै सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । यहाँ अहिलेसम्म १२७ जनामा सङ्क्रमण भइसकेकाे छ । सङ्क्रमितमध्ये केही त बुटवल उपमहानगरपालिकाकै र सामाजिक विकास मन्त्रालयका कर्मचारीसमेत छन् ।
घरघरमै पुगेर भेट्ने यस्तो अभियानले होम आइसोलेसनमा बसेकाहरूको मन जितेको छ । होम आइसोलेसनमा बस्नुभएकामध्ये एक बुटवल–११, का केशवराज ज्ञवालीको प्रतिकृया छ ‘साँच्चै खुसी लाग्यो । यस्तो अभियानले मेरो जस्तै अरुको पनि मनोबल बढाउनेछ ।’