logo
२०८१ चैत्र ३ सोमवार



जलवीरे सडकमा बग्छन् दर्जनौँ खोला

प्रदेश |


जलवीरे सडकमा बग्छन् दर्जनौँ खोला


चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ५ गते । बलेफी जलवीरे १० किलोमिटरको राजमार्गमा वर्षा लागेसँगै दर्जनौँ खोला सडकमा बग्ने गरेका छन् । यस्तै कात्तिके र तेम्बाथानसम्मको ३० किमीभन्दाबढी सडकको हालत त कन्तबिजोग नै छ । सवारी साधन र पैदलयात्रीलाई बलेफीदेखि जलवीरेसम्म पुग्न ज्यानै जानसक्ने जोखिम छ ।
उक्त राजमार्गको जङ्घारेखोला, नौबिसेखोला, लप्सेखोला, कामीटारखोला, ढाँडेखोला लगायतका दर्जनभन्दा बढी ठाडोखोला बग्ने गरेको छ । बलेफीदेखि जलवीरे तेम्बाथान पूूरै सडकमा सानाठूला ठाडोखोला बग्दै आएको छ ।
सडक दायाँबायाँ ढल निर्माण गरिएको छैन र खाल्टाखुल्टीमा सडकमा पानी जमेको छ । सडकको विभिन्न खण्ड भासिएका छन् । ठाडोखोलाले राजमार्गलाई क्षतविक्षत बनाएको छ । सडक आसपासमा जोडिएका घरहरू र खेतबारी जोखिममा परेका छन् ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको नौबिसेमा रहेको घरअगाडिकै राजमार्गमा वर्षोंदेखि दर्जनौँ ठाडोखोला सडकमा बग्ने गरेको छ । सभामुख कै घरअगाडिको राजमार्गको स्तरोन्नति हुन नसकेपछि स्थानीय रुष्ट भएका छन् ।
उक्त राजमार्गमा दुई पाङ्गे्र सवारी साधन चल्न सक्दैनन् । मानिसहरू आउजाउ गर्दा खोलाले बगाएर लैजाने खतरा रहेको छ । बिरामी, सुत्केरी, दीर्घरोगीलाई अस्पताल लैजानका लागि समस्या परेको छ । राजमार्गमा एम्बुलेन्ससम्म आउन सक्दैन बलेफी गाउँपालिका–२ लप्सेखोलाकै नजिक घर रहेकी जुनादेवी भण्डारीले पीडा व्यक्त गर्नुभयो । राजमार्गको अवस्था सुधार गर्ने सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । बलेफी गाउँपालिका–५ का अध्यक्ष विकास श्रेष्ठले सडकको स्तरोन्नति गर्न स्थानीय सरकारसँग बजेट नभएकाले केन्द्रीय र प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने जानकारी दिनुभयो । बलेफीदेखि जलवीरेसम्मको ठाडोखोलामा पक्की पुलको सरकासँग माग गर्ने नौबिसेका हरिप्रसाद सापकोटाले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?