logo
२०८१ मंसिर १३ बिहीवार

  हाटबजारका कलिला पल्लीधारेको कथा  



शरीर ढाक्न र घर चलाउन दश वर्षमै थाप्लोमा नाम्लो

प्रदेश |
समाज |


शरीर ढाक्न र घर चलाउन दश वर्षमै थाप्लोमा नाम्लो


प्रेमराज सिम्खडा
कालीकोट, भदौ ५ गते । कालीकोट जिल्लाका हाटबजारका आधिकांश मजदुर दश वर्षदेखि माथिका बालबालिका छन् । स्थानीय बजारमा पल्लीधारी गर्नेमध्येका आधाजसाे बालमजदुर रहेको सहजै देख्न सकिन्छ । उनीहरू घर खर्च चलाउन र शरीर ढाक्नैका लागि मजदुरी गरिरहेका छन् ।
पढ्ने उमेरमा मजदुरी गर्नु कसलाई रहर होला र ? भन्दै नहरीनाथ गाउँपालिका वडा नं १ का लली दर्जी भक्कानिनुभयो । एघार वर्षदेखि आफू जिते बजारमा पल्लीधारी अर्थात् भारी बाेक्ने मजदुरका रुपमा रहेको बताउनुभयो । 'काम गरेकाे अहिले पाँच वर्ष भयो । म १६ वर्षको भएँ । अब त जति ठूला भारी पनि बाेक्न सक्छु ।'

मालवाहक गाडी अनलोड गर्दा आफू बच्चा भएकै कारणले ज्याला पनि थोरै पाउने तर काम भने ठूला मान्छे बराबर गर्दा पीडा हुने दुखेसाे ललीले सुनाउनुभयो ।

कसैले नाम सोधे भाग्ने नरहरीनाथ वडा नं १ कै अर्का झण्डै १२ वर्षका बालक, ५० किलोको सिमेन्टको कट्टा बाेकेर झोलुङ्गे पुल पार गर्नु जसकाे दैनिकी हो । नाम कसैले हस्त दर्जी भन्छन्, कसैले हस्ते । उहाँले आफ्नो परिचय कसैलाई दिनुहुन्न । भारी बाेक्न थालेको दुई वर्ष भएको उहाँका साथी बताउँछन् । हस्तले दश वर्षको उमेरदेखि नै जिते बजारका पल्लीधारी गर्ने गरेको व्यापारी तुलाराज योगीले बताउनुभयो ।

'हामी यति जना छौँ । हामी भारी बाेक्छौँ अथवा ट्रक खाली गर्छौँ भनेर ठूला मान्छे आउँछन् । त्यसमा कति बच्चा, कति ठूला मान्छे छौ भनेर सोध्ने काम हुँदैन ।' व्यापारी योगीले भन्नुभयो, 'साना बच्चालाई काम नदिउँ भने पनि यिनीहरू कसरी पालिने ? कसले लुगाफाटो दिने ? त्यसैले पनि सक्ने जति काम गर भन्छौँ ।'

स्थानीय जितेबजारमा पक्की पुल नभएका कारणले कालीकोटको नरहरीनाथ गाउँपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा लगिने सबै समान झोलुङ्गे पुलबाट बाेकाएर लगिन्छ । कालीकोटका जिते बजार, हुल्म, लालीघाट, मोल्फा बजार, सेरावाडा, टाकुल्ला लगायत २४ भन्दा बढी हाटबजारमा मजदुरी गर्ने अधिकांश बालबालिका रहेका छन् ।

जिल्लामा बालअधिकार र बालसंरक्षणको क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संस्था छन् । उनीहरूले पनि पल्लीधारे बालबालिकाहरूका लागि केही पनि राहतका कार्यक्रम ल्याएका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?