logo
२०८१ चैत्र ३ सोमवार



सङ्क्रमित थपिँदै गएपछि कोहलपुरमा निषेधाज्ञा पाँच दिन थपियो

प्रदेश |


सङ्क्रमित थपिँदै गएपछि कोहलपुरमा निषेधाज्ञा पाँच दिन थपियो


सिराज खान

नेपालगञ्ज, भदौ ५ गते । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञाको अवधि पाँच दिन थप गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमितहरू दिनदिनै बढ्दै गएपछि कोहलपुरमा साउन ३२ गतेदेखि शुक्रबार भदौ ५ गते राति १२ बजेसम्मका लागि लागु गरिएको निषेधाज्ञालाई पाँच दिन थप गरेर भदौ १० गतेसम्म जारी राख्ने निर्णय गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रवक्ता माधवप्रसाद रिजालले नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म थप गर्नेे निर्णय गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा आएर कोहलपुरमा सङ्क्रमितहरू बढ्दैगएको पाइएकोले निषेधाज्ञालाई पाँच दिन थप गर्ने निर्णय गर्नुका साथै निषेधाज्ञालाई अझै कडा पार्ने निर्णयसमेत गरेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता रिजालका अनुसार बैठकले कोहलपुर नगरक्षेत्रमा अत्यावश्यकबाहेक अन्य सबै सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । सो अवधिमा एम्बुलेन्स र शववाहनकालगायत अन्य अत्यावाश्यक सेवा चल्नेछन् ।

निषेधाज्ञा अवधिभर नगरपालिकामातहतका वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी सेवा भने पूर्णरुपमा बन्द रहनेछन् । बैंक तथा वित्तीय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय पनि गरिएको छ ।

यसैबीच कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सबैलाई निषेधाज्ञाको पालना गर्दै सुरक्षित घरमै बस्न आग्रह गर्नुभएको छ । उहाँले तीज पर्वलाई पनि घरमै रमाइलो गरेर मनाउन अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?