logo
२०८१ बैशाख ८ शनिवार



वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु

प्रदेश |


वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ६ गते । पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको र पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनट जाँदा उपचारको क्रममा मृत्यु भएको डा. दीपक कुशवाहले जानकारी दिनुभयो ।

मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका डकैला बहुअरीका ६१ वर्षीय पुरुषमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा भर्ना गरी उपचार सुरु गरिएको थियो । भदौ ३ गते सङ्कलन गरिएको स्वाबको आरटी पीसीआर परीक्षण गर्दा भदौ ४ गते ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट बिहीबार राति नै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल भर्ना गरी उपचार सुरु गरिएकाे थियाे । 

त्यस्तै, शुक्रबार राति ८ बजे मृत्यु भएका अर्का सङ्क्रमित ५८ वर्षीय पुरुष मृगौला र मधुमेहका रोगी थिए भने भेन्टिलेटरमा राखेर उपचार गर्ने कार्य भइरहेको थियो ।
यी थप दुई सङ्क्रमितको मृत्युसँगै पर्साको वीरगञ्जमा कोरोना सङ्क्रममणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । मृत्यु हुनेमा २७ जना पर्साका, पाँच जना बाराका र रौतहटका २ जना र जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएर हालसम्म पहिचान खुल्न नसकेका एक जना कोरोना सङ्क्रमित युवक रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?