logo
२०८१ चैत्र ३ सोमवार



खुल्न थाले सङ्क्रमित मानवीय व्यवहार गर्न आग्रह

प्रदेश |


खुल्न थाले सङ्क्रमित मानवीय व्यवहार गर्न आग्रह


प्रदेश ब्युरो

हेटौँडा, भदौ ७ गते । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९को महामारीबाट नेपाल अछुतो रहन सकेको छैन । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण सहर, बजार हुँदै ग्रामीण क्षेत्रमा पनि पैmलन थालेको छ । कोरोना सङ्क्रमणबाट कुनै पनि पेसा, वर्ग, समुदाय र जातिका मानिसहरू स्वतन्त्र छैनन् । आफै पीडामा रहेका कोरोना सङ्क्रमितप्रति टोल, समाज र आफन्तबाट हेय र अछुतको व्यवहार हुने गरेको छ । कतिपय जानेबुझेकाबाटै कोरोना सङ्क्रमितप्रति अमानवीय व्यवहार प्रदर्शन भएका घटना पनि छन् । तर, विगतमा कोरोना सङ्क्रमण हुँदा लुकाउने गरिएकोमा पछिल्लो समयमा आफूलाई कोरोना सङ्क्रमण भएको भनेर सार्वजनिक गर्नेहरूको क्रम बढ्दै गएको छ ।
समाजमा सचेतवर्ग भन्नेहरूले नै लुकाउन खोज्दा कोरोना सङ्क्रमणप्रति भ्रम र अन्योल सिर्जना भइरहेको सन्दर्भमा सङ्क्रमितले आफूलाई कोरोना भएको सार्वजनिक गर्दा भ्रम र अन्योल अन्त्य गर्न सहयोग पुग्ने देखिन्छ । कोरोना सङ्क्रमितहरूले आफूलाई कोरोना सङ्क्रमण भएको भन्दै सामाजिक सञ्जाललगायतका माध्यमबाट सार्वजनिक गर्न थालेपछि कोरोना सङ्क्रमितप्रति हेर्ने र गर्ने व्यवहारमा परिवर्तन आउन थालेको छ ।

सङ्क्रमण हुनु अपराध होइन

मकवानपुर समाचारदाताका अनुसार, कोरोना भाइरस सङ्क्रमण भएकाहरूले लुकाउने र समाजले कोरोना सङ्क्रमण भएका प्रति फरक व्यवहार गर्दै आएको सन्दर्भमा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.शङ्करप्रसाद उपाध्यायले आफूलाई कोरोना पुष्टि भएको सार्वजनिक गर्नुभएको छ ।
आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार साँझ सार्वजनिक गर्दै उहाँले आफ्नो स्वास्थ्य ठीक रहेको र आइसोलेसनमा रहेको बताउनुभयो । क्याम्पस प्रमुख उपाध्यायले कोरोना सङ्क्रमण सामान्य भएको भन्दै आफ्नो सम्पर्कमा आएकाहरूलाई कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रियामा जान सुझावसमेत दिनुभएको छ ।
यस्तै नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले शुक्रबार साँझ नै सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको सार्वजनिक गर्नुभयो ।
हामी सबैको सकारात्मक प्रयासले कोरोना पराजित गर्न सकिन्छ हेटौँडा क्याम्पस सञ्चालक समितिका उपाध्यक्षसमेत रहनुभएका पराजुलीले भन्नुभएको छ, कोरोना लाग्नु अपराध होइन जोसुकैलाई लाग्न सक्छ ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पस, हेटौँडाका कार्यसमिति सदस्य कुमार रुम्बा तामाङले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आफन्त, टोलछिमेक, साथीभाइ, शुभेच्छुकलगायतलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभएको छ । कोरोना पोजेटिभ भएर हेटौँडाको गौरीटारस्थित आइसोलेसनमा उपचाररत सञ्चारकर्मी कुमारी स्याङ्बो कोरोना पोजेटिभ भएपछि समाज र आफ्नै साथीभाइबाट हेयको व्यवहार गरेको अनुभव सुनाउँदै कोरोना भएकालाई मनोबल उच्च बनाउन प्रोत्साहन र उत्साह आवश्यक भएको बताउनुभयो ।

स्वास्थ्यकर्मीको मनोवल बढाऔँ

नारायणगढ समाचारदाताका अनुसार, कोरोना सङ्क्रमित स्टाफ नर्स रन्जिता थापाले फेसबुकमार्फत आफ्नो परिवारमाथि छिमेकी तथा समाजले गरेको विभेदका बारेमा सार्वजनिक गर्नुभएको छ । उहाँले फेसबुकमार्फत भन्नुभएको छ, आज म कोरोना पोजेटिभ भएर बसेको छु । तर, आज त्यही समाजले मेरो परिवारलाई बारम्बार धम्की देखाउने, घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिले जागिर छोड्न नलगाएको भन्ने आदि गरिरहेका छन् । भोलि हजुरलाई, हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि ? आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ र ?
रत्ननगर अस्पतालका प्रमुख डा. विश्ववन्धु बगालेले फेसबुक पेजमा कोरोना सङ्क्रमित भएपछि आफूले आफ्नै छिमेकीबाट अपहेलना र तिरस्कार भोग्नु परेको गुनासो सार्वजनिक गर्नुभएको थियो । उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, मलाई विभेद गर्नेहरूलाई मेरो कामना छ, कोरोना नलागोस् । यदि लागि हालेछ भने पहिला म नै उहाँहरूलाई आफ्नै प्लाज्मा दिएर उपचारमा सहयोग गर्नेछु ।
समाजले कोरोना सङ्क्रमितप्रति गर्ने व्यवहारका यी दुई उदाहरण मात्रै हुन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्टाफ नर्स थापाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै समाज र छिमेकीले बिरामीको मनोबल बढाउन लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाका बारेमा सर्वसाधारणमा भएको अल्पज्ञानले यो अवस्था निम्तिएको बनाउनुहुन्छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा स्वास्थ्यकर्मीको मनोवल बढाउने काम सबैले गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

आयुर्वेद अस्पताल १४ दिनका लागि सिल

सिन्धुली समाचारदाताका अनुसार, जिल्ला आयुर्वेद अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै अस्पताल शनिबारदेखि १४ दिनका लागि सिल गरी सबै सेवा ठप्प पारिएको छ । सिन्धुली जिल्लामा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका नौ जना बिरामीमध्ये पाँच जना उक्त अस्पतालका रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै भू–संरक्षण कार्यालयको क्वारेन्टाइनमा बसेका दुई जना र बद्र्धबहादुर गणमा कार्यरत एक जना नेपाली सेना र सुनकोसी गाँउपालिका–३ निवासी ६२ वर्षीय एक वृद्ध रहेका सिन्धुली अस्पतालले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय
अधिकृत उपेन्द्र न्यौपानेले अस्पतालबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

थप चार जना कोरोना सङ्क्रमण

दोलखा समाचारदाताका अनुसार, दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका–५, सुरीमा चार जना कोरोना सङ्क्रमित थपिएका छन् । गत हप्ता मात्र सात जनामा कोरोना सङ्क्रमण देखिएपछि १४१ जनाको स्वाब परीक्षण गर्दा दुई महिला र दुई पुरुष गरी थप चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।
यसैबीच कोरोना सङ्क्रमित थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला बन्दाबन्दी चार दिन थप गरेको छ । गत साउन ३२ गतेदेखि शनिबार राति १२ बजेसम्म गरिएको बन्दाबन्दी यही भदौ १० गते राति १२ बजेसम्मलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त अधिकारीले जानकारी दिनुभयो ।

मनहरि बजार सिल

हेटौँडा समाचारदाताका अनुसार, मकवानपुरको दोस्रो प्रमुख व्यापारिक केन्द्र पश्चिम मकवानपुरको मनहरि बजारलाई सिल गरिएको छ ।
एकै दिनमा आठ जनामा कोरोना सङ्क्रमण भएपछि मनहरी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले बजारक्षेत्र सिल गर्ने निर्णय गरेको हो । बजार क्षेत्रमा तरकारी, खाद्यान्न, औषधि तथा पेट्रोलियम बिक्री गर्ने सञ्चालक र कर्मचारीको स्वाब परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।
मनहरि बजारको उत्तरतर्फ मनहरि गाउँपालिका–७
(साबिक राक्सिराङ)को आँपखोल्सीदेखि दक्षिणतर्फ मकवानपुर उद्योग वाणिज्य सङ्घ भवन, पूर्वमा मनहरि पुलदेखि पश्चिममा इलाका प्रहरी कार्यालयमुनिको खोल्सीसम्मको क्षेत्रमा सिल गर्ने निर्णय भएको विपद् व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । सिल गरिएका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गर्नेछन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?