शिवराज ढुङ्गाना
अछाम, भदौ ७ गते । कोरोना सङ्क्रमणको आशङ्कामा थ्रोट स्वाब सङ्कलन गरिएकामध्ये आइतबार अछाममा २३ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सदरमुकाम मङ्गलसेन नगरपालिकाका १७ जना र पञ्चदेवल विनायक नगरपालिकाका छ जनाका कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।
विनायक र मङ्गलसेनमा थ्रोट स्वाब सङ्कलनपश्चात डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणका क्रममा मङ्गलसेन वडा नं. १ का १२ जना, वडा नं. १२ का दुई जना र वार्ड नं. ३, ४ र १४ का एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पञ्चदेवल विनायक नगरपालिकाका वडा नं. ३ मा ५ जना र वडा नं. ५ मा एक जनाका कोरोना पुष्टि भएको कार्यालयका सूचना अधिकारी जोशीको भनाइ छ ।
सङ्क्रमित हुनेमा मङ्गलसेन नगरपालिका– १ का २ वर्षीया बालिकादेखि ६० वर्षीय व्यक्तिसम्म रहेका छन् । सङ्क्रमित पुष्टि भएका २३ जनामध्ये चार जना मात्र महिला रहेको बताइएको छ । अछाममा हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८०८ पुगेको छ ।