सिराज खान
नेपालगञ्ज, भदौ ७ गते । कोभिड १९ महामारीका कारण मुस्लिम समुदायले एकसातासम्म धुमधामका साथ मनाउने मोहर्रम पर्वका सबै धामिर्क कार्य यस वर्ष घरमै गर्ने निर्णय गरिएको छ ।
केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिती बाँकेले कोभिड १९ का कारण मोहर्रम पर्वका सबै धार्मिक कार्यक्रमलाई घरमै गर्ने निर्णय गरिएको जनाउँदै सोही बमोजिम गरिदिन सम्पूर्ण समुदायलाई आग्रह गरेको छ ।
केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितीका अध्यक्ष फिरोज हलवाइले यस वर्ष महामारीलाई मध्यनजर गर्दै केन्द्रिय समितिमा आबद्ध रहेका नेपालगञ्जका ५५ वटा मोहर्रम कमिटीका पदाधिकारीको उपस्तिथिमा मोहर्रमका सबै धार्मिक कार्यक्रमहरु घरमै गरेर परिवार र आफन्तका साथ मनाउने निर्णय गरिएको बताउनुभयो ।
उहाँले मोहर्रम पर्वलाई आइतवारदेखि सात दिनसम्म सयौंको जुलुसका साथ हरेक दिन मनाइने गरिएकोमा यस वर्ष सबै कार्यक्रमलाई स्थगित गरेर आ आफ्नो घरमा धार्मिक कार्य गर्ने तथा दस तारिखका दिन ताजिया सेलाउन दुई चार जनाको समुहमा पालैपालो स्थानीय कर्बलामा जाने निर्णय गरिएको बताउनुभयो ।
यस वर्षको मोहर्रम पर्वमा कुनै पनि जुलुस ननिकाल्ने र आ आफ्नो घरको अगाडि आलम खडा गर्ने, ढोल बजाउने, लगायतको रितिरिवाज नेपाल सरकारको स्वास्थ्य सम्बन्धित मापदण्डलाई पालना गर्दै घरमै मनाउन जानकारी गराउन माइकिंग गर्ने तथा पर्चा पम्पलेट वितरण गर्ने कार्य पनि शुरु गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा धार्मिक सदभाव समिति, विभिन्न मोहर्रम समितिहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा पनि मोहर्रमका सबै धार्मिक कार्य यस वर्ष घरमै गर्ने सहमति भएको थियो ।
यसैविच बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले पनि कोभिड १९ का कारण संक्रमणको अत्याधिक जोखिम बढेको जनाउँदै मोहर्रमलाई घरमै सुरक्षित भएर मनाउन अपील गर्नु भएको छ ।
जिल्लाका अन्य विभिन्न मुस्लिम अगुवा तथा संघसंस्थाले पनि केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितीको निर्णयलाई स्वागत गर्दै सोही प्रकारले गरिदिन समुदायका सबैसंग आग्रह गरेका छन् ।
आइतवारबाट शुरु भएको मोहर्रम पर्व भदौ १४ गतेसम्म घरपरिवारमै विविध कार्यक्रम गरि मनाइने छ ।