जनार्जन खत्री
सर्लाही, भदौ ८ गते । बाग्मती सिँचाइ आयोजनाको पानी किसानको खेतसम्म पुर्याउन सर्लाहीको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साह सक्रिय भएर लागिपर्नुभएको छ ।
पर्याप्त वर्षा नभएको र नहरमा पानी सुकेकाले किसानहरू समस्यामा परेपछि मेयर साह आफैँ नहरमा पानी ल्याउने कार्यमा खटिनुभएको हो । मलङ्गवासम्मको नहरमा पानी पुर्याइदिन माग गर्दै नगर प्रमुख साहसहितको टोलीले सोमबार बाग्मती सिँचाइ आयोजनामा आएर ध्यानाकर्षण गराएको छ ।
यसबारेमा आयोजनाका प्रमुखसँग कुरा राख्दा नहर सरसफाइ गरी बिग्रेर भत्किएको ठाउँमा मर्मत गरेर बुधबारसम्म मलङ्गवासम्म पानी पुर्याइदिने आश्वासन पाएको नगर प्रमुख साहले बताउनुभयो । आफूहरू नहरकै बाटो भएर मलङ्गवासम्म फर्किँदा बीच भागका किसानले पानी भाँच्न जथाभावी नहर भत्काएको र ठूल्ठूला पाइप हालेको पाइएको नगर प्रमुख साहले बताउनुभएको छ ।
नहरमा पानी नआउँदा धान बाली सुक्न थालेको भन्दै किसानले गुनासो गरेपछि नगर प्रमुख साह, प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, वडा नं. १२ का वडाध्यक्ष रामदरेश रायलगायतले सोमबार कर्मैयास्थित बाग्मती सिँचाइ आयोजनामा आएर तत्काल पानी पठाइदिन आग्रह गर्नुभएको हो । बाग्मती सिँचाइ आयोजनाको नहरबाट सर्लाहीको पश्चिमी र दक्षिणी भेगमा ठूलो क्षेत्रमा सिँचाइ हुने भएपनि नहर सरसफाइ नहुँदा र भत्किएका सहायक नहरहरू मर्मत नहुँदा तल्लो भेगसम्म पानी पुग्ने गरेको छैन ।