लोकेन्द्र जोशी
दार्चुला, भदौ १० गते । मार्मा गाउँपालिका–१, रातापानीमा बुधबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेका छन् । मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोही ठाउँका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का वीरसिंह लोथ्याल गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज तथा प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो ।
घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतक धामी मार्मा गाउँपालिका–२ सेलभिसामा पसल सञ्चालन गर्दैआएका थिए ।
मार्मा गाउँपालिकाका–२ सेलभिसाबाट चामल र मानिस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जाँदैगरेको से ४ क ४०४७ नम्बरको ट्र्याक्टर रातापानीमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्र्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।