logo
२०८१ बैशाख ८ शनिवार



वीरगञ्ज उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |


वीरगञ्ज उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ११ गते । वीरगञ्जका विभिन्न अस्पतालमा उपचारका क्रममा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जको विभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितमध्ये बिहीबार बिहान दुई जना र बुधबार राति एक जना गरी थप तीन जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसीयाले पुष्टि गर्नुभयो ।

बिहीबार बिहान वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड विशेष अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यस्तै बिहीबार बिहान नै नारायणी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बाराको सुवर्ण गाउँपालिका वडा नं. ४ हर्दिया गाउँकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।
त्यसअघि बुधबार साँझ नारायणी अस्पतालको आइसाेलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका वडा नं. ३ गुलरीया गाउँका ७२ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको थियो । यसरी वीरगञ्जको विभिन्न अस्पतालमा पर्साका दुई र बाराका एक गर्भवती महिला गरी थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

साउन ३० गते कोरोना सङ्क्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिका वडा नं. १४ बहुअरीका ६२ वर्षीय पुरुष त्यही दिन वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना भई उपचाररत थिए । मिर्गौला रोगी रहेका ती पुरुषमा निमोनियाको समस्या देखिएको र उपचारका क्रममा बिहीबार बिहान ८ बजेर १० जाँदा मृत्यु भएको डा. चौरसियाले बताउनुभयो ।

त्यस्तै पर्साको धोबनी गाउँपालिका वडा नं. ३ गुलरिया गाउँका ७२ वर्षीय सङ्क्रमित पुरुषको बुधबार साँझ ६ बजे नारायणी अस्पतालको आइसाेलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका ती वृद्धमा भदौ ८ गते पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै वीरगञ्जकै नारायणी अस्पतालमा उपचाररत कारोना सङ्क्रमित बाराकी एक ३३ हप्ताको गर्भ रहेकी गर्भवती महिलाको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. चौरसीयाले बताउनुभयो । भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएकी ती गर्भवती महिलाको स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।

पछिल्ला थप तीन जनाको मृत्युसँगै पर्सामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ जनामध्ये एक बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका दुई जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?