बसन्त पराजुली
भरतपुर, भदौ १२ गते । विगत दुई हप्तादेखि चितवनमा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थपिएको छ । कोरोनाको सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका भरतपुर महानगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा थप गरेको हो ।
पछिल्लो पटक भदौ ५ गते जारी गरिएको निषेधाज्ञा शुक्रबार मध्यराति सकिँदैथियो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को अधिकार प्रयोग गर्दै निषेधाज्ञा घोषणा गरिएको उल्लेख गर्नुभएको छ । थप गरिएको निषेधाज्ञा भदौ १९ गते मध्यरातसम्म जारी रहने छ ।
निषेधाज्ञा थप हुनेमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका रहेका छन् ।
यसअघि भरतपुरमा साउन ३० गते मध्यरातदेखि, रत्ननगर, कालिका, खैरहानी, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा साउन ३२ गते मध्यरातदेखि र माडी नगरपालिकामा भदौ ५ गते मध्यरातिदेखि निषेधाज्ञा हुँदैआएको छ ।
कोरोनाको बढ्दो जोखिम नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाउनुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । यो अवधिमा अत्यावश्यकबाहेक सर्वसाधारणका लागि हिँडडुल, सवारी साधन चलाउन र आवतजावतमै निषेध गरिएको छ ।
निषेधाज्ञाका क्रममा सर्वसाधारणका लागि दैनिक उपभोग्य वस्तु र दुधजन्य सामाग्री खरिद बिक्रीका लागि सहज होस भनेर बिहान ५ बजेबाट बिहानकै ८ बजेसम्म र साँझ ५ बजेबाट ८ बजेसम्म खाद्यान्नका पसलहरू खुला गर्ने निर्णयलाई भने यथावत् नै राखिएको छ । राजमार्गमा सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक लगाइए पनि मालवाहक ट्रकहरू भने निर्विवाद चल्न पाउने विज्ञप्तिमा उल्लेख छ ।