सन्तोष सुवेदी
सिरहा, भदौ १४ गते । प्रदेश २ को सिरहामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले शनिबार राति १०ः०० बजे कोशी अस्पताल विराटनगरबाट आएको परीक्षण प्रतिवेदनअनुसार मालपोत कार्यालय लहानका प्रमुखसहित सिरहामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
उक्त प्रतिवेदनको जानकारी आइतबार बिहान सार्वजनिक गर्दै स्वास्थ्य प्रमुख यादवले लहानका एक र गोलबजारका १८ जना गरी सिरहामा १९ जना सङ्क्रमित थपिएको बताउनुभएको छ । झापा दमक घर भएका मालपोत कार्यालय लहानका प्रमुखले दमकमै स्वाब परीक्षण गराउनुभएको थियो । राति उहाँको रिपाेर्ट काेराेना पोजिटिभ पाइएपछि उहाँ दमकतिरै पुग्नुभएको छ ।
यसैगरी, गोलबजारका १८ जना सङ्क्रमितहरू समुदायकै रहेको जनाइएको छ । सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूलाई परीक्षण गर्दा ती १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसहित गरेर सिरहामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ ।