logo
२०८१ बैशाख १३ बिहीवार



वीरगञ्जमा उपचार गराइरहेका थप तीन सङ्क्रमितको मृत्यु

प्रदेश |


वीरगञ्जमा उपचार गराइरहेका थप तीन सङ्क्रमितको मृत्यु


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १६ गते । पर्सामा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना र नारायणी अस्पतालमा उपचारत एक जना गरी थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसीयूमा सात दिनदेखि उपचाररत बाराको कोल्हभीका ६० वर्षीय पुरुषको बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो । मधुमेहका रोगी ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १० गते गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरी उपचार गरिँदैआएको थियो ।

त्यस्तै वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मङगलबार बिहान १ बजे वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको थियो । उहाँ साउन ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि १८ दिनदेखि कोभिड अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्थ्याे ।

यस्तै भदौ १३ गते सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा पनि मृत्यु भएको छ । मृत्युपछि स्वाब सङ्कलन गरी जीन एक्सपर्ट विधिबाट पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।

यसअघि सोमबार दिउँसो ३ बजेर २० मिनट जाँदा वीरगञ्ज हेल्थकेयर अस्पतालमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरीका ८० वर्षीय पुरूष सङ्क्रमितको मृत्यु भएको थियो । भदौ १३ गते स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना हुनुभएका वृद्धको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । कुनै ट्राभल हिस्ट्री नभएका ती पुरूषलाई लिभर, मधुमेह र निमोनियाको समस्या रहेको नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. चौरसियाले बताउनुभयो ।

अहिलेसम्म वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । जसमा साउन महिनायता मात्रै मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५४ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४० जना, बाराका १० जना र रौतहटका चार जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?