मधुसुधन तिमल्सिना
काभ्रे, भदौ १७ गते । कोरोना सङ्क्रमित एक महिलाले बच्चा जन्माउनुभएकाे छ । पनौती नगरपालिका वडा नं. ४ की ३४ वर्षीय महिलाले धुलिखेल अस्पतालमा छोरी जन्माउनुभएकाे हाे ।
धुलिखेल अस्पतालका प्रवक्ता प्रा.डा. सुमनराज ताम्राकारले ‘रिस्क’ मोलेरै तर स्वास्थ्य सुरक्षा अपनाएर अस्पतालले सुरक्षित प्रसूति गराएको जानकारी दिनुभयो । स्टाफ नर्स ममता राई र नर्सिङ इन्स्ट्रक्टर सरिना शाक्यको टीमले सङक्रमित गर्भवतीलाई प्रसूति गराउन सफल भएको थियो । उहाँले दुई किलो नौ सय ग्राम तौलको शिशु जन्माउनुभएको छ । बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाडौँमा अस्थायी बसोबास गर्ने ती महिलाले थापाथलीस्थित प्रसूति गृहमा गर्भावस्थाको नियमित जाँच गराउँदै आउनुभएकाे थियाे । सो क्रममा पीसीआर परीक्षणबाट उहाँमा कोरोना पोजिटिभ देखियो । उहाँ स्थायी बसोबास भएकै पनौती–४ स्थित घरमै फर्केर आइसोलेसनमा बस्न थाल्नुभएकाे थियाे ।
पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले मङ्गलबार बिविहान सुत्केरी व्यथा लागेको खबर आएलगत्तै नगरपालिकाले एम्बुलेन्सको व्यवस्थासहित धुलिखेल अस्पतालमा समन्वय गरिदिएको बताउनुभयो । मङ्गलबार दिउँसो पौने ३ बजे ती गर्भवतीको सफल प्रसूति भएको थियो ।
अस्पतालका अनुसार उहाँलाई थप एक हप्ता अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने र पीसीआर परीक्षणमा कोरोना भाइरस सङक्रमण नेगेटिभ आएपछि मात्रै घर पठाइनेछ । नवजात शिशुको पनि परीक्षण हुने जनाएको छ ।