सिराज खान
नेपालगञ्ज, भदौ १७ गते । बाँके जिल्लामा बुधबार थप १३ जना सङ्क्रमितहरू कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार कोरोना मुक्त भई बुधबार जिल्लाका विभिन्न आइसोलेसनबाट १३ जना घर फर्किएका हुन् । उहाँका अनुसार बैजनाथका एक, कोहलपुरका आठ, राप्तीसोनारीका एक र नेपालगञ्जका तीन जना गरी १३ जना निको भएर घर फर्किएका छन् ।
भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई जिल्लाका विभिन्न आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । आइसोलेसनमा १४ दिन बिताएकोमा उनीहरूलाई कोरोनासम्बन्धी कुनै लक्षण नदेखिएपछि सरकारको मापदण्डबमोजिम बुधबार घर फर्काइएको हो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार योसँगै जिल्लामा कोरोनामुक्त हुनेको सङ्ख्या ७५९ पुगेको छ । बाँकेमा हालसम्म एक हजार ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये, छ जनाको मृत्यु भइसकेको छ ।
अझैपनि विभिन्न आइसोलेसनमा ३२० जना सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।