धर्बेन्द्र झा
जनकपुरधाम, भदौ १७ गते । प्रदेश नं.२ मा बुधबार मात्रै २५० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन । मङ्गलबारको तुलनामा सङ्क्रमित ह्वात्तै बढेको छ । सोमबारदेखि प्रदेशमा लागू गरिएको लकडाउन अलि खुकुलो भएपछि पुनः सङ्क्रमण फैलिन थालेको छ ।
मङ्गलबार ८८ जनामा झरेको सङ्क्रमण पुनः आज बढेर २५० पुगेको छ । बुधबार सम्ममा प्रदेश नं.२ मा जम्मा पाँच हजार ३९० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का सचिब गोपाल बरालले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायाणसिंह सगरमाथा अस्पताल सप्तरीमा गरिएको परीक्षणबाट आज ६६ महिला र १८४ जना पुरुष गरी २५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दश हजार ५५६ पुगेको छ ।
उहाँका अनुसार आज धनुषामा ५८ महोतरीमा २९ बारामा ५२, पर्सामा १४ सलार्हीमा ५१ सप्तरीमा १५, सिरहामा १३ र रौतहटमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । वरिष्ठ चिकित्सक यादवका अनुसार आज बाराको सिमरौनगढका एक ९७ वर्षको एक जना पुरुषको मृत्यु भएको छ । त्यसै गरी, आजै तीन महिला र ८० जना पुरुष गरी ८३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना जितेर फर्किनेको सङ्ख्या पाँच हजार ७१ पुगेको वरिष्ठ चिकित्सक यादवले बताउनुभयो ।
उहाँले बुधबारसम्ममा प्रदेश नं.२ मा एक लाख ५८१ जनाको स्वाब सङ्कलन गरी जाँचको लागि पठाइएकोमा पाँच हजार ४१८ जनाको नतिजा आउन बाँकी रहेको बताउनुभयो । उहाँले प्रदेश नं.२ मा केही समययता पीसीआर परीक्षणको दायरा फराकिलो पारिएको र आज मात्रै ९९५ जनाको स्वाब जम्मा गरिएको बताउनुभयो ।