logo
२०८० चैत्र १५ बिहीवार



नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले कोरोना जित्नुभयो

प्रदेश |


नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले कोरोना जित्नुभयो


सिराज खान
नेपालगञ्ज, भदौ १८ गते । नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले बाँकेमा कोरोनालाई जितेर निको भई घर फर्किनुभएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी (अनुमति लिएर नाम दिइएको हो) बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किनुभएको जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ८८ वर्षका व्यक्तिले कोरोना जितेर निको भई घर फर्किएको नेपालमै पहिलोपटक बाँकेमा भएको बताउनुभयो ।
भदौ ४ गते सङ्क्रमण पुष्टि भएपछि उहाँलाई खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र आइसोलेसनमा राखिएको थियो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि कुर्मी लाैराको सहारामा गाडीमा चढेर आइसोलेसनमा जानुभएको थियो । तर बिहीबार निको भएर डिस्चार्ज भएको बेला उहाँ पहिलेभन्दा निकै स्वस्थ देखिनुभयो भने उहाँको हातमा लाैराे पनि थिएन ।
नेपालमै सबैभन्दा बढी उमेरको निको हुने सङ्क्रमित बन्नुभएका वृद्ध कुर्मीले जडीबुटीको प्रयोगले कोरोनासँगको लडाइँमा आफूलाई सफलता मिलेको जनाउँदै आत्मबल र जडीबुटीको प्रयोगले कोरोना पराजित भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले कोरोना लाग्दैमा मानिस मर्दैन भन्ने उदाहरण आफू भएको जनाउँदै धैर्यधारण गरेर केही आवश्यक कामहरू गर्ने हो भने कोरोनालाइ सहज रुपमै पराजित गर्न सकिने पनि प्रष्ट पार्नुभयो ।
निको भएका उहाँसहित सबैलाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले खादा ओढाउँदै बिदाइ गर्नुभएको छ ।
८८ वर्षीय कुर्मीसँगै बिहीबार बाँकेकामा २४ जना निको भएर घर फर्किएका छन् । बिहीबार निको हुनेमा नेपाली सेनाको मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका १७ सैनिक पनि रहेका छन् । योसँगै जिल्लामा कोरोनामुक्त हुनेको सङ्ख्या ७८३ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये, छ जनाको मृत्यु भइसकेको छ भने अझैपनि विभिन्न आइसोलेसनमा ३०६ जना सङ्क्रमित उपचाररत रहेका छन् ।
तीमध्ये दुई जना निकै गम्भीर अवस्थामा छन् भने छ जनाको आइसियुमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?