मनोज भट्टराई
ओखलढुङ्गा, भदौ १८ गते । पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द ओखलढुङ्गामा सेवाग्राही बिरामीको सङ्ख्या बढ्न थालेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएसँगै आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको सङ्ख्या बढ्न थालेको हो ।
विगतका दिनमा स्वास्थ्य केन्द्रमा न्यून सङ्ख्यामा बिरामी आउने गरेका भए पनि गत चैतदेखि औषधालयमा गत वर्षहरूको तुलनामा सेवाग्राहीको सङ्ख्या बढेको वरिष्ठ कविराज निर्देशक उद्धव भट्टराईले बताउनुभयो । गत वर्षहरूमा प्रतिमहिना २० देखि ५० जनासम्म सेवाग्राहीले सेवा लिने गरेका भए पनि सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको उहाँको भनाइ छ ।
पछिल्लो समय अन्य अस्पतालहरूमा सङ्क्रमणको जोखिम बढेको कारण आयुर्वदमा भिड हुने गरेको र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुर्जो, असुरगन्ध, चेवनप्रास लगायतका जडिबुटी प्रयोग गर्नेहरूको सङ्ख्या उल्लेख्य रहोको उहाँको भनाइ छ । अरु अस्पताल जान भन्दा यहाँ सङ्क्रमणको त्रास कम भएका कारण पछिल्लो समय आफुहरू आयुर्वेद औषधि प्रयोग गर्न थालेको सेवाग्राही कुमार केसीले बताउनुभयो ।
आयुर्वेदमा पायल्स, ग्यास्ट्रिक, बाथ तथ जण्डिसलगायतका बिरामीहरू नियमित आउने गरेका भए पनि कोरोना सङ्क्रमणको त्रासमा अहिले सामान्य रुघाखोकीका बिरामी समेत औषधालयमा आउने गरेको सूचना अधिकारी आशिषकुमार झाले बताउनुभयो । उहाँका अनुसार चैत देखि औषधालयमा विगतभन्दा दोब्बर सङ्ख्या रहेको छ । चैत देखि हालसम्म २ हजार सेवाग्रही आएको र गत वर्ष यो अवधिमा हजारभन्दा काम मात्रै सेवाग्रही आएको उहाँको भनाइ छ । जिल्लाका अस्पताल तथा क्लिनिकहरूमा भिड बढिरहेको अवस्थामा कोरोना महामारीको त्रासका कारण आफनै कान्ला करेसाका जडीबुटीमा विश्वास गर्नेहरूको सङ्ख्या बढ्न थालेसँगै जडीबुटी के हो भनेर सर्वसाधारणलाई चिनाउन जरुरी रहेको देखिन्छ ।