नवीन शिशिर विक
बागलुङ, भदौ २१ गते । बागलुङको काठेखोला गाउँपालिकामा आइतबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अघि सङ्क्रमित कर्मचारीको सम्पर्क तथा क्वारेन्टाइनमा रहेकोहरूको स्वास्थ्य परीक्षण गर्दा कर्मचारीले खाना खाने ठाउँका दुईसहित तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणका काठेखोला गाउँपालिका–६ का ४६ वर्षीय एक महिला, २१ वर्षीय पुरुष र २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत सोमनाथ पाण्डेले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिकाका–६ का महिला र पुरुष होटल व्यवसायी हुन् । उनीहरूको भदौ १४ गते गाउँपालिकाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत पीसीआर परीक्षण गर्दा सङ्क्रमण पहिचान भएको हो ।
गाउँपालिका अध्यक्ष अमरबहादुर थापका अनुसार सङ्क्रमण पुष्टि भएको क्षेत्र गाउँपालिका–६ वरपरको क्षेत्रलाई सिल गरी आइतबार नै कन्ट्याक्ट ट्रेसिङ गरिने छ ।
यस्तै काठेखोला गाउँपालिकाका एक जना सङ्क्रमित भारतदेखि आएर क्वारेन्टाइनमा बसेको अध्यक्ष थापाले बताउनुभयो । सङ्क्रमित सबैलाई बागलुङ बजारमा रहेको आइसोलेसनमा लैजाने पठाइने तयारी भइरहेको अध्यक्ष थापाले बताउनुभयो । आइतबारका तीनसहित गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । जसमध्ये सात जना समुदायस्तरका रहेका छन् ।