शिवशंङ्कर मिश्र
बारा, भदौ २४ गते । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परिक्षणको क्रममा बारा, पर्सा, रौतहटका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा बाराका ९,पर्साका ६ र रौतहटका २२ जना सहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले बताउनुभयो ।
मंगलबार राति सार्वजनिक गरिएको तथ्यांङ्क अनुसार २ सय ९० जनाको स्वाव परिक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताउनुभयो । थपिएका ३७ जनामध्ये ९ जना महिला र २८ जना पुरुष रहेका छन् । संक्रमितहरुको उमेर ४ वर्षदेखि ६७ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता चौरसियाले जानकारी दिनुभयो ।
थपिएका संक्रमित मध्ये बारा जिल्लाको कोल्हवी नगरपालिकामा ३ जना, कलैया उपमहानगरपालिका वडा नम्बर ९ र १९ मा १/१ जना, जीतपुरसिमरा उप महानगरपालिकामा २ जना, बारागढी गाउँपालिका वडा नम्बर २ मा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय बारागढीमा कार्यरत एक जना सुरक्षा कर्मीमा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो । यस्तै पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ११ का २ जना , वडा नम्बर २८ र ३२ का १/१ जना र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ८ र ७ मा १/१ जना रहेका छन् । त्यसैगरी रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ मा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।