logo
२०८१ चैत्र १८ मंगलवार



अछाममा ८८५ ले कोरोना जितेर घर गए

प्रदेश |


अछाममा ८८५ ले कोरोना जितेर घर गए
सांकेतिक तस्बिर


शिवराज ढुङ्गाना

अछाम, भदौ २५ गते । सङ्क्रमण पुष्टि भएर उपचारपछि अछाममा ८८५ जना कोरोना जितेर घर गएका छन् । सङ्क्रमण पुष्टिपछि वडा अध्यक्षसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारण कोरोना परास्त गरेर घर गएका हुन् ।

साँफेबगर नगरपालिकामा  २२२ जनामा कोरोना पुष्टि भएपनि सबै जना कोरोना जितेर घर गइसकेका छन् । यस्तै मेल्लेख गाउँपालिकामा १३८ जना, ढकारी गाउँपालिकाका २९ र कमलबजार नगरपालिकाका २५ जना सबैजना घर फर्किसकेका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

मङ्गलसेन नगरपालिकामा ११३ जनामा १०८ जना, रामारोशन गाउँपालिकामा १३१ जनामा १२५ जना, पञ्चदेवल विनायक नगरपालिकामा ६९ जनामा ६६ जना कोरोना सञ्चो भएर घर गएका पाइएको छ । यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा ७६ जनामा ७२ जना, तुर्माखाँद गाउँपालिकामा ३८ जनामा ३५ जना र चौरपाटी गाउँपालिकामा ७० जनामा ६५ जना घर फर्केका कार्यालयमा तथ्याङ्क रहेको छ ।

स्थानीय तहमा निर्माण गरिएका आइसोलेसन र अस्पतालमा सामान्य उपचारपछि उनीहरू घर फर्केको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । अछाममा हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिमा लक्षणविहीन भएको कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । आइसोलेसनमा रहँदाताका नियमित तातोपानी, घरेलु जडिबुटी र सामान्य खालको खानाले नै कोरोना जितेर घर फर्केको साँफेबगर नगरपालिका–११ देवीस्थानका वडा अध्यक्ष गणेशबहादुर खड्काको भनाइ छ ।

सात हजार ५२० जनाको थ्रोट स्वाब सङ्कलन गरेकोमा हालसम्म ९११ जनामा कोरोना पुष्टि भइसकेको छ भने दुईसय जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । बाहिरबाट आएर १५ हजार ८२४ जना विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेर घर गएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?