logo
२०८१ चैत्र १८ मंगलवार



वीरगञ्जको अवस्था सुध्रँदै, निषेधाज्ञा र सेना परिचालनले काम गर्यो

प्रदेश |


वीरगञ्जको अवस्था सुध्रँदै, निषेधाज्ञा र सेना परिचालनले काम गर्यो


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ २५ गते । कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि कोभिड १९ को हटस्पट बनेको वीरगञ्जको अवस्था पछिल्ला घटनाक्रमले सुधारोन्मुख देखिएको छ ।
पछिल्ला दिनहरूमा नयाँ सङ्क्रमितको घट्दो सङ्ख्या र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो रहनु, सक्रिय सङ्क्रमित सङ्ख्याभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेका पछिल्ला घटनाक्रमले वीरगञ्जको अवस्था सुधारोन्मुख देखिएको हो ।
उपचारको क्रममा रहेका सङ्क्रमितहरूको लागि बनाइएका आइसोलेसन र अन्य व्यवस्थामा पनि सुधार भएको पाइएको छ भने सङ्क्रमण नियन्त्रणका लागि चालिएका कदम तथा गरिएका प्रयासहरू सार्थक हुँदै गएकाले अवस्था सुधारोन्मुख बन्न पुगेको विश्लेषण गरिएकाे छ । अवस्था सुधारोन्मुख भएपनि खतरापूर्ण अवस्थाको अन्त्य भईनसकेको विज्ञहरू बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार दिउसो ३ बजे सार्वजनिक गरेको विवरणअनुसार पर्सा जिल्लामा दुई ४२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ५८१ जना उपचारपश्चात सङ्क्रमण मुक्त भइसकेका छन् । सक्रिय सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेकाले पनि अवस्था सुधार हुँदै गएको आभास भएको हो ।
हालसम्म पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या २४२० रहेको छ जसमा १८७४ जना पुरुष र ५४६ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये ४२ जनाको मृत्यु भएको छ भने पछिल्ला दिनमा सङ्क्रमितहरूमा कोरोनासँग मिल्दाजुल्दा लक्षणहरू देखिने गरेको छ तर लक्षण देखिएका धेरै सङ्क्रमितहरू पनि उपचारपश्चात सङ्क्रमणमुक्त हुँदै घर फर्किरहेका छन् ।
सरकारले सःशुल्क कोरोना परीक्षण गर्न पाइने व्यवस्था गरेपछि साउन महिनामा मानिसहरूले सःशुल्क कोरोना परीक्षण गराउन जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गयो । यसरी सशुल्क कोरोना परीक्षण गराउनेमा सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा प्रवेश गरिसकेको भनी स्थानीय र सरोकारवाला निकाय डराए र जिल्लाभर निषेधाज्ञा समेत लगाईयो । निषेधाज्ञा पालना भएन भनी सेना परिचालनसमेत गरियो तर पछिल्लो अवस्था सामान्य हुँदैगएको छ । आलोपालो गरी पसलहरू सञ्चालनमा आइरहेका छन् ।
नारायणी अस्पताल र वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा सङ्क्रमितहरू छैनन् भने अस्थायी कोभिड अस्पताल गण्डकमा ४२ जना सङ्क्रमितहरू उपचाररत छन् । आशाराम हस्पिटललाई पनि अस्थायी कोभिड अस्पताल बनाउन सम्झौता गरिएपनि सङ्क्रमितहरू थपिनेक्रम घटेपछि त्यहा सङ्क्रमित राख्नै परेन । हुन त धेरै सङ्क्रमितहरू सामुदायिक आइसोलेसन, आफ्नै खर्चमा होटल आइसोलेसन र होम आईसोलेसनमा रहेर पनि सङ्क्रमणमुक्त हुन सफल भएका थिए । दिनदिनै थपिने सङ्क्रमितको सङ्ख्या तुलनात्मकरुपमा कम भएको छ भने भदौ १ गतेदेखि २४ गतेसम्मको अवधिमा मात्र ८९८ जना सङ्क्रमितहरू सङ्क्रमणमुक्त भएका छन् ।
वीरगञ्जमा सुरुमा चैत ३० गते छपकैयामा रहेको एक मस्जिदमा बसेका २६ जना मुस्लिम धर्म प्रचारकमध्ये तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसरी तीन जना भारतीय नागरिकमा सङ्क्रमण पुष्टि हुँदै पर्सामा कोरोना सङ्क्रमण देखिएकोमा वैशाख अन्त्यसम्मा सङ्क्रमितको सङ्ख्या सय नाघिसकेको थियो । कुल सङ्क्रमितको सङ्ख्या २ सय नाघेपछि जेष्ठ १४ गतेसम्म ती सङ्क्रमण पुष्टि भएका लक्षण नदेखिएकाले करिब करिब सबै सङ्क्रमणमुक्त हुँदै आइसोलेसनबाट फूलमालासहित बिदाइ भइरहेका थिए ।
जेष्ठ १४ गतेसम्म नारायणी अस्पताल सङ्क्रमित निको भएर भएपछि खाली नै भएको थियो भने त्यसपछि अस्थायी कोभिड अस्पताल गण्डकमा पाँच जना सङ्क्रमितमात्र उपचाररत रहेको अवस्थामा एकाएक सङ्क्रमितहरू थपिन थालेपछि साउन महिनाको अन्त्यमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ३२१ जना, भदौको २४ गतेसम्म कुल सङ्क्रमितको सङ्ख्या २४२० जना पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?