नवीन शिशिर विक
बागलुङ, भदौ २६ गते । भदौ १७ गते मध्य राती भुजीखोलामा उत्र्रेर आएको बाढीले बोवाङ्गका हेमबहादुर विकको आठ जनाको परिवारलाई घरसँगै भेलमा मिलायो । दाई करबहादुर विक र हेमको परिवार बाढीमा बगे ।
बाढीले घरको नाम निसानसमेत नरहने गरी बगर बनाएको दृष्य देखेपछि घरभित्र रहेका परिवार पनि बाढीले नै बगाएको सहज अनुमान आफन्तले गरे । हेमबहादुरका दाजु करबहादुर घर नजिकैको खोलामा मृत फेला परे पनि अन्य सदस्य भेटाउन निकै मुस्किल भयो ।
माईतीलाई घरबाससँगै बाढीले उठिवास लगाए पछि बेपत्ताको खोजीमा जुट्नुभएका चन्द्रमणी विकले फेला परेका साला जेठान, भतिज भतिजीलाई सिंगो भेटाउन सक्नुभएन । ‘नत एकै पटक भेटाउन सके, न त सिंगो शरीर भेटाउन सकियो’ विकले भन्नुभयो–‘कसैको हात, कसैको खुट्टा त कसैको आधा शरीर लिएर अन्तिम संस्कार गरेको छु ।
गोरखापत्र अनलाईसँग कुराकानी गदै विकले भन्नुभयो–‘मैले सानैदेखी हुर्काएको सालो (हेम) को एउटा खुट्टा मात्रा भेटिएको थियो । आफ्नो मान्छे भएर होला खुट्टाको नङ्ग हेरेर पहिचान गरेको हुँ ।’ चन्दमणीले साला, जेठान, भतिज भतिजी र बहिनी (सालकी श्रीमति) लाई तीन चरणमा दाहसंस्कार गर्नुभएको थियो ।
‘मृत शरीर भए पनि पुरा देख्न पाएनन’ उहाँले भन्नुभयो–‘मेरो माईतीको उठीवास भयो, बाचेका तीन छोरीको लालन पालनको अर्काे समस्या छ ।’ मृतकहरु बडिगाड खोलाको विभिन्न स्थानमा फेला परेको हुँदा आफ्नो घाटनमा समेत सेलाउन पाएनन । अधिकांस फेला परेका शवलाई आफन्तले बूर्तिवाङ्ग बजार हुँदै बग्ने बडिगाड खोलामा अन्त्योष्टि गरेका छन् ।
चन्द्रमणी मात्रा होईन, सोही स्थानका देवेन्द्र विकले पनि पहिरोमा बेपत्ता भएकी भाउजुको आधा शरीर मात्रा अन्त्योष्टि गर्नुभयो । बेपत्ता भएको पाँच दिन पछि खोला किनारमा आधा भाग फेला परेको भाउजुको दाहिने हातबाट पहिचान गरेको विकले बताउनुभयो । बाढीले लछारपछार गर्दा बेपत्ताहरु मृत अवस्थामा भए पनि सिंगो भेटाउन कठिन भएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको भनाई छ ।
‘कतै, हात मात्रा, कतै खुट्टा त कतै आधा शरीर फेला परेको छ’ उहाँले भन्नुभयो–‘ शरीर र टाउकोको भाग अलग हुँदा सनाखतमा गाह्रो भएको थियो । शव टुक्रा हुँदा बोवाङ्ग द्ववालका तुलबहादुर विकले २२ बषिृय छोरा नारायण विकको शव समेत अर्कैले अन्त्योष्टि गरिदिए ।
नारायणको शव भदौ १९ गते घट्टेबोटका ३१ बर्षिय प्रेम पुनको दावी गर्दै पुन परिवारले अन्त्योष्टि गरेका थिए । २० गते प्रेमको सिंगो शव फेला परे पछि पुन परिवारले फेरि छोराको अन्त्योष्टि गरे तुलबहादुर भने शव भेटिए पनि अन्तिम संस्कार गर्न पाउनुभएन । बाढीले बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको छ भने अझै १६ जना वेपत्ता छन् ।