logo
२०८१ बैशाख १५ शनिवार



पछिल्लो २४ घण्टामा मोरङमा दुई महिलाको मृत्यु

प्रदेश |


पछिल्लो २४ घण्टामा मोरङमा दुई महिलाको मृत्यु


नवराज कट्टेल

विराटनगर, भदौ २६ गते । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु भएको केन्द्रका इन्चार्ज डाक्टर दीपक सिग्देलले जानकारी दिनुभयो । बिहीबार मात्रै कोशी अस्पतालबाट रिफर गरिएकी महिलामा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

लक्षणसहितको संक्रमित उहाँमा उच्चरक्ताचाप र मधुमेहको समस्या रहेको डाक्टर सिग्देलले जानकारी दिनुभयो । यसैगरी विराटनगर महानगरपालिका–१९ नम्बर वडामा ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेको छ । मिलन चौकमा चिया पसल गरेर बस्ने महिला ज्वरो आएर सिकिस्त बिरामी परेपछि उपचारका लागि बिहीबार साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जटिल स्वास्थ्य अवस्था बनेपछि कोशीको कोभिड–१९ मा भर्ना गरिएकी महिलाको बिहीबार साँझ ७ः१० बजे नै मृत्यु भएको डाक्टर सिग्देलले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाकाको १९ नम्बर वडामा पहिलो संक्रमित महिलाको नै निधन भएपछि त्यहाँका स्थानीयवासी त्रसित बनेका छन् । विराटनगरका १९ वडामध्ये बाँकी १८ वडामा एक हजार ३०० भन्दा धेरै संख्यामा कोरोना संक्रमण पुष्टि हुँदा १९ नम्बर वडामा भने अहिलेसम्म एकजना पनि संक्रमित फेला परेका थिएनन् ।

वडा अध्यक्ष बद्री सरदारले चिया पसल गर्ने महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सचेतना लगायतको अभियान सुरु गरिएको बताउनुभयो । शुक्रबार बिहानैदेखि संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भईरहेको अध्यक्ष सरदारले दावी गर्नुभयो । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ जना पु्गेको छ । प्रदेश १ मा हालसम्म ४५ जनाको मृत्यु भईसकेको छ । जसमध्ये १२ जना प्रदेश १ स्थायी ठेगाना उल्लेख नभएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?