logo
२०८१ मंसिर १५ शनिवार



बाढीसँगै बग्यो लाखौंको योजना

प्रदेश |


बाढीसँगै बग्यो लाखौंको योजना


शिवशङ्कर मिश्र

बारा, भदौ २८ गते । बाराको निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवको संसदीय विकास कोषको रकमबाट पसाह खोलामा बाँधिएको बाँधको अधिकांश भाग बाढीले बगाएको छ ।
कलैया उपमहानगरपालिका २७ बिजुलपुर र महागढीमाई नगरपालिका १० गंजभवानीपुर बीचमा पर्ने पसाहा खोलाको बाढीलाई रोक्न असार अन्तिम हप्तामा निर्माण गरिएको बाँधलाई साउन, भदौ महिनाको बाढीले बगाएको हो ।
बाँध निर्माणका लागि उपभोक्ता समिति बनाएर पेट्टी ठेकेदार मार्फत ५० लाख भन्दा बढी रुपियाँ लगानी गरिएको थियो । तर त्यसबाट जनताले खासै राहत पाउन नसकेको गुनासो गंजभवानीपुरका स्थानीयहरुले गरेका छन् ।
सांसद यादवले पसाहा खोलामा बाँध निर्माणभन्दा कार्यकर्ता पाल्न खोजेकोले संसदीय विकास कोषको रकमको लगानी बालुवामा पानी सावित भएको गंजभवानीपुरका स्थानीय रामाशंकर यादवले गुनासो गर्नुभयो ।
बाढीले निर्माण गरिएको बाँधको अधिकाँश भाग बगाए पछि पसाहा खोलामा आएको बाढी गाउँमा प्रवेश गरी धानबालीमा क्षति पु¥याएको यादवले बताउनुभयो । त्यसैगरी शहरी विकास मन्त्रालयबाट प्राप्त ६५ लाख रुपियाँ बजेट रकममध्ये महागढीमाई नगरपालिकाको सिमरा–मलाही सडकमा ग्राभेल गर्ने कार्य गरिए पनि बर्षा शुरु भएपछि सडकमा खाल्डाखुल्डी परेको छ ।
पारस प्रसादको अध्यक्षतामा उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गरिएको ग्राभेल काममा कम रकम खर्च गर्दा काम पक्का नभएको मल्हनी टोलका स्थानीय बैधनाथ यादवले बताउनुभयो ।
शहरी विकास मन्त्रालयबाट आएको ६५ लाख रुपियाँ बजेट सडक ग्राभेलको नाममा ३५ लाख मात्रै भुक्तानी गरिएको शघन शहरी तथा भवन निर्माण आयोजना पर्सा वीरगंजका प्रमुख रञ्जनकुमार दासले जानकारी दिनुभयो ।
विकास सम्बन्धी ठोस रणनीति तथा दृढ सोचविनाको विकासे योजनाहरुको कागजमा काम देखिए पनि व्यवहारमा पक्का काम नहुने गरेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले भन्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?