logo
२०८१ मंसिर १५ शनिवार



बाँकेमा कोरोनामुक्त हुनेको संख्या हजार नाघ्यो, सोमबारमात्रै ४० जना डिस्चार्ज

प्रदेश |


बाँकेमा कोरोनामुक्त हुनेको संख्या हजार नाघ्यो, सोमबारमात्रै ४० जना डिस्चार्ज


सिराज खान

नेपालगञ्ज, भदौ २९ गते । बाँके जिल्लामा कोरोनामुक्त हुनेहरुको संख्या हजार भन्दा बढी पुगेको छ । जिल्लामा निको हुनेहरु दिनदिनै बढ्दै गएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु उत्साहित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार सोमबार मात्रै बाँकेमा ४० जनाले कोरोना जितेर संक्रमणमुक्त भै घर फर्किएपछि जिल्लामा निको हुनेहरुको संख्या हजार नाघेको बताउनुभयो ।

उहाँले सोमबार निको भएका ४० जना मिलाएर बाँकेमा संक्रमणमुक्त हुनेको संख्या १ हजार ३६ पुगेको बताउनुभयो । जिल्लामा हालसम्म एक हजार ४४० जना संक्रमित फेला परेकोमा ८ जनाको मृत्यु भएको र ३९६ जना अझै विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जिल्लामा निको हुने दर हाल आएर झनै बढेको बताउनुभयो । उहाँले केही दिन पहिलेसम्म निको हुने दर ७१.११ प्रतिशत रहेकोमा अहिले बढेर ७१.९६ प्रतिशत पुगेको जनाउनुभयो ।

यसैबीच सोमवार मात्रै बाँकेमा तीन बर्षिय बालकसहित ४० जना संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार, निको हुनेहरुमा ७ बर्षिया र ९ बर्षिया बालिकापनि रहेका छन् । ३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?