मुकुन्द सुवेदी
बर्दिया, असोज २१ गते । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरेनी गाउँछेउमा रहेको सत्खलुवा तालले पर्यटकको मनै लोभ्याउने गरेको छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट करिब पाँच किमी उत्तरपूर्वमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सत्खलुवा ताल प्राकृतिक ताल हो ।
कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो ताल अहिले सिमसार क्षेत्रको रुपमा संरक्षण गरिएको छ । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेकाले यो तालको नाम सत्खलुवा राखिएको बूढापाका बताउँछन् । जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस ताल वरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरको बसोबास छ ।
तालमा बाह्रै महिना पर्याप्त पानी हुने भएकाले बाघ, चित्तल, बँदेल, जरायोलगायत दुर्लभ जङ्गली जनावर तथा रैथाने चराचुरुङ्गीका लागि उपयुक्त पानी पिउने ठाउँ पनि हो ।
करिब ४० हेक्टर क्षेत्रफमा फैलिएको ताल क्षेत्रमा बोटिङ, पैदल यात्रा, माछा, चरा, जङ्गली जनावारलगायत विभिन्न किसिमका फूल तथा वनस्पतिहरूको अवलोकन सहजै गर्न सकिन्छ ।
पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण यस तालको प्रचारप्रसार अझै भएमा पर्यटकको आगमनसमेत वृद्धि हुने देखिन्छ ।
ताल, वन्यजन्तु र चराचुरुङ्गी हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो होस् भनेर खैरनीमा गाउँमा १० वटा होमस्टेसमेत सञ्चालनमा रहेका छन् ।
थारु बहुल क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक वेशभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्य, खैँजडीमा भजनदेखि देउडासम्मका गीत गाएर मनोरञ्जन दिने गरिन्छ ।