logo
२०८१ बैशाख १८ मंगलवार

  साँफे–मार्तडी राजमार्ग  



जडाङ्गा खोलामा पुल छैन्, जोखिम मोलेर गाडी गुडाउँदै

प्रदेश |


जडाङ्गा खोलामा पुल छैन्, जोखिम मोलेर गाडी गुडाउँदै


शेरबहादुर सार्की
बाजुरा, कात्तिक २० गते । साँफे–मार्तडी राजमार्ग अन्तरगत पर्ने जडाङ्गा खोलामा पुल नबनेपछि सवारी साधन वारपार गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।गत साउन २५ गते राती परेको अविरल वर्षाका कारण बुढिगङ्गा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका –४ को जडाङ्गा खोलामा रहेको बेलीव्रिज बगाएको थियो ।
पुल बगाएको चार महिना हुँदा पनि खोलामा बेलिव्रिजको निर्माण नभएपछि खाद्यान्न लिएर मार्तडी जाने सवारी साधन नदीमै गुडाउनुपर्ने भएको हो । अँझै पानीको बहाव नघटेकोले लोड गाडी लिएर आएपछि खोला तर्न निकै समस्या हुने गरेको ट्याक्टर डाइभर राम चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, धनगढीबाट खाद्यान्न लिएर आउँछु, यता खोलामा पुल छैन्, गाडीलाई त्रिपालले ढाकेर भए पनि जोखिम मोलेर खाद्यान्न सदरमुकाम मार्तडीसम्म पु¥याउनुपर्ने भएकोले खोलामा गाडी गुडाउन बाध्य हुन्छौं । कहिले सिधै खोला तरेर पारी गइहाल्छौ, लोड बढी भएपछि कहिले खोलाको बीचमै अड्किन्छौ, त्यसपछि स्काइभेटरको साहायता लिएर गाडी पारी तार्नुपर्छ ट्रक चालक खडक रावतले बताउनुभयो ।
स्थानीय युवाको सक्रियताले खोलामा बनेको काठको पुलले मानिसको आवतजावतमा केही सहज भए पनि सवारी साधनलाई भने खाद्यान्न ढुवानी गर्न निकै समस्या हुने गरेको छ ।
जिल्लास्थित सरोकारवालाहरुले पानी रोकिने वित्तिकै खोलामा बेलिव्रिज निर्माण गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पुल नबनेको स्थानीयको भनाइ छ ।
योसँगै साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बार्जुगाड, ताँप्रीसेरा घट्टेखोला, हरहरे खोलाका दर्जनौं ठाउँमा पुल छैन् ।
साउनमा आएको बाढीले खोलामा रहेका सबै पुल बगाएपछि जिल्लाभित्र तथा बाहिरबाट आउने सवारी साधनलाई वारपार गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।
खाद्यान्न लिएर आएका सवारी साधनलाई सदरमुकाम मार्तडीसम्म ढुवानी गर्न निकै सास्ती खेप्नुपर्ने अवस्थालाई विचार गर्दै खोलामा तुरुन्तै बेलिव्रिज निर्माण गर्नका लागि डिभिजन कार्यालय अनुरोध तथा सहजीकरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
तत्कालका कैलालीको गोदावरीमा रहेको बेलिव्रिज बाजुराको जडाङ्गा खोलाका लागि ढुवानी गर्ने ठेक्का  आहवान भइसकेको डिभिजन कार्यालयबाट जनाकारी आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।
बाढीका कारण राजमार्गसँगै जोडिएका पुलहरु पूर्णरुपमा क्षति भएकोले अहिले तत्कालै ती सबै पुल निर्माण गर्ने सकिने स्थिति छैन् ।
अन्य खोलाभन्दा जडाङ्गा खोलामा हिउँदमा पनि सवारी साधनलाई तर्न निकै समस्या हुने भएकोले तुरुन्तै बेलिव्रिज निर्माण गरिने भएको छ ,सामान ढुवानी गर्न ठेक्का पनि गरिएकोले पुग्ने वित्तिकै बेलिव्रिज निर्माणको काम सुरु हुने भएको छ ।
अन्य पक्की पुल निर्माणका लागि भने माथिल्लो निकाय सँग पटक पटक कुरा भइरहेको छ उताबाट अनुमति दिने वित्तिकै काम सुरु गर्ने साँफे मार्तडी सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?